सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु

२०७५ माघ २१, ०७:०२ खबर संवाददाता

सुदूर पश्चिम महोत्सव आजदेखि धनगढीमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ महोत्सव सुरु भएको हो। महोत्सवको एक समारोहका बीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। हरेक बर्ष मंसीर २२ देखि सुरु हुने महोत्सव संघको निर्वाचनका कारण यस बर्ष २ महिनापछि सुरु भएको हो। सो अवसरमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सात बुँदे माग सहितको मागपत्र बुझाईएको छ। मागपत्र बुझेपछि मुख्यमन्त्री भट्टले सुदुरपश्चिमको प्रदेशको विकाससँग जोडिएका मागहरु पुरा गर्नका लागि पहल गर्ने आश्वासन दिए। 

प्रदर्शनी स्थलको निर्माण, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने, गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको विस्तार गर्दै बैकल्पीक अन्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउनपर्ने र चिनसंग जोड्ने नाका स्थापना, विशेष औद्योगीक क्षेत्रको स्थापना, १० बर्षसम्म ट्याक्स फ्रि जोन घोषणा गरिनुपर्ने र प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने गरि ७ वटा माग मुख्यमन्त्रीलाई बुझाईएको हो। संघका अध्यक्ष पुष्पराज कुवँरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य व्यक्त गरे। 

उद्घाटन समारोहमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उद्घाटन समारोहमा विभिन्न सांस्कृति झाकीहरु पनि प्रस्तुत गरिएका थिए। यसअघि पनि सांस्कृतिक झाकी सहितको प्रभातफेरी गरिएको थियो। आजदेखि सुरु भएको महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा कृषि प्रदर्शनी सहित महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई प्राथमिकता दिईएको छ। महोत्सवमा रमाईलो मेला वाल उद्यान लगायत पनि राखिएका छन्। महोत्सवमा विद्यार्थीहरुलाई प्रवेशमा छुट दिईएको छ भने अपाङगता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव अवधिभर ३ लाख वढी दर्शकले महोत्सव अवलोकन गर्ने र ५ करोड वढीको कारोवार हुने अनुमाग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस