सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनतासँग प्रत्यक्ष संवादमा कञ्चनपुरका सांसद

२०८३ साउन ११, ०५:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनुवाइ तथा जनतासँग सांसद कार्यक्रममार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।   

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले चार वटै पालिकाका विभिन्न वडामा नागरिक सुनुवाइ कार्यक्रम राखिएको बताए। उनले नागरिक सुनुवाइ कार्यक्रममार्फत यस क्षेत्रमा व्याप्त जनगुनासा समाधान गर्दै जाने बताए। 

शनिबार बेलौरी–९, खल्लाकुन्डामा सञ्चालन गरिएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले यस क्षेत्रमा अव्यवस्थित सडक, शुद्ध खानेपानी समस्या तथा रोजगारीको समस्या समाधान गर्न माग गरेका थिए।  स्थानीय गोपाल चौधरीसहितका स्थानीयले खराब सडकका कारण यात्रा गर्न कठिनाइ बेहोर्नु परेकाले सडक कालोपत्रेको माग गरे।  

त्यसै गरी प्रतिनिधि सभा सदस्य धामीले बेलौरी बजारबाट दक्षिणतर्फ रहेको छोटी भन्सारक्षेत्रको स्थलगत अनुगमन गर्दै खजुरिया जोड्ने सडक कालोपत्रेका साथै भन्सार स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। यससँगै उनले बेलडाँडीस्थित चौधर नदी, दोदा नदी तथा अन्य जोखिमयुक्त खोलानालालगायत क्षेत्रका स्थलगत अनुगमन गरेका छन्। 

त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य दीपकराज बोहराले जनसंवाद यात्रा सञ्चालन गरेका छन्। अभियानमार्फत वडा, टोल, घर घरमा पुगेर समस्या पहिचान र समाधानको प्रयास भइरहेको जनाइएको छ । प्रतिनिधि सभा सदस्य बोहोराले शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा पुगेर जनसमुदायको आवश्यकता, समस्या पहिचान र समाधान गर्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको स्पष्ट पारे।

निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले जनतासँग सांसद कार्यक्रममार्फत जनताको समस्या, गुनासा सक्दो चाँडो समाधानका लागि आवश्यक समन्वय गरिने बताएका छन्। 

कमेन्ट लोड गर्नुस