सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियन कप छनोट शिक्षण सुरु

२०७९ वैशाख २, ०४:१९ रासस

काठमाडौँ: एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाएका छन्।

ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन्। 

यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई छन्। मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मेहनत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने उल्लेख गरे। उनले आफूहरु निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्दो प्रयास गर्ने बताए। 

छनोटमा नेपाल समूह ए मा छ। नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। नेपालको समूहको छनोट खेलहरु भने कुवेतमा आयोजना हुनेछ।     हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्। छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ। 

यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ। त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ। 
 

कमेन्ट लोड गर्नुस