सुदूरपश्चिमका ‘गेम चेन्जर’ आयोजना गफमै सीमित
वर्ष समीक्षा २०७८
धनगढीः सुदूरपश्चिमका ठुला विकास आयोजनाको प्रगति वर्ष २०७८ मा निराशाजनक देखिएको छ। संघीय सरकारले वर्षाै अगाडि निर्माण थालेका दर्जनौ आयोजनाको प्रगति वर्ष २०७८ मा पनि निराशाजनक देखिएको हो। केही आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने अधिकांश आयोजनाको निर्माण भने कछुवा गतिमा भइरहेको हो।
प्रदेशको सम्वृद्धिका लागि ‘गेम चेन्जर’ मानिएका बहुप्रतिक्षित आयोजना पनि चर्चामै सिमित भएका छन्। पञ्चेश्वर बहुउदेश्यि जलविद्युत आयोजनाको काम वर्ष २०७८ मा पनि सुरु हुन सकेन। भारत सरकार र नेपालबीच महाकालीको पानी बाँडफाँड तथा अन्य बुँदाहरुमा सहमति जुट्न नसकेपछि पञ्चेश्वर जलविद्युत आयोजनाको काम अगाडि नबढेको हो। एक वर्षको अवधिमा भारत र नेपालको विज्ञ समूहको बैठक समेत बस्न सकेन।
यस्तै पश्चिम सेतीको निर्माण पनि गफमै सीमित भएको छ। कर्णाली चिसापानी तथा अपर कर्णाली जलविद्युत आयोजनाको काम पनि वर्ष २०७८ मा सुरु हुन सकेन। सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्ने भनिएका जलविद्युतका आयोजनाहरुको प्रगति पनि निराशाजनक छ। प्रदेश सरकार गठन भएको झण्डै साढे चार वर्षमा जलविद्युत आयोजना निर्माणको प्रक्रिया समेत सुरु नभएको हो। प्रदेश सरकारले जलविद्युत आयोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) मात्र तयार पारेको दाबी गर्दै आएको छ।
सुदूरपश्चिम प्रदेशको हवाई सेवा विकास तथा पूर्वाधार निर्माणका लागि भने २०७८ साल फलदायी देखिएको छ। प्रदेशको ठुलो विमानस्थल धनगढीमा स्तरवृद्धिको प्रक्रिया सुरु भएको छ। धनगढी विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट विनियोजन गरिएको छ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकासका लागि प्रक्रिया थालिएको छ। कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरवृद्धिको काम सुरु भएको छ। अछामको साँफेबगर, बैतडीको पाटन र डोटी विमानस्थलबाट हवाई सेवा सुचारु भएको छ। डडेल्धुरामा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन गरिएको छ।
सडक निर्माणको लामो इतिहास रहेको कर्णाली चिसापानी–जंगलघाट–मंगलसेन सडकको ट्रयाक निर्माणको काम पूरा भएको छ। योसंगै सुर्खेत, अछाम, बाजुरा तथा दैलेखका नागरिक छोटो दुरीमा कैलालीसँग जोडिएका छन्। महाकाली लोकमार्ग, सेती लोकमार्ग, फास्ट ट्रयाक लगायतका ठुला सडक आयोजनाको एक वर्षमा भौतिक प्रगति भने सन्तोषजनक हुन सकेन। धनगढीमा मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम २०७८ मा लगभग पूरा भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा रहेका तीन पुल निर्माणको यो वर्ष ठेक्का भएको छ।
कञ्चनपुरको महाकालीमा चार लेनको पुल निर्माणको काम भने अझै पूरा भएको छैन। कैलाली–कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्ग स्तरवृद्धिको काम थालिएको छ। कैलालीमा हुलाकी सडक चार लेनमा विस्तारको काम यो वर्ष सुरुवात भएको छ। गेटा मेडिकल कलेजको निर्माण त लगभग सकिएको छ तर सञ्चालनको प्रारुपबारे भने टुंगो लागेको छैन। वर्ष २०७९ मा चिकित्सा शिक्षाको अध्ययन र स्तरिय स्वास्थ्य सेवा पाउने आशा सुदूरपश्चिमवासीमा पलाएको छ।
रानीजमरामा नहर निर्माण सकिएको छ भने जलविद्युतको काम अन्तिम चरणमा पुगेको छ। उता कञ्चनपुरको छेला औद्योगिक क्षेत्रमा पर्ने रुख गणनाको काम समेत पूरा भएको छैन। अछामको साँफेबगर, बैतडीको पाटन, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीमा नयाँ सहर निर्माणको काम थालिएको छ। तर प्रगति निराशाजनक छ।
संघीय सरकारका केही आयाजनाको प्रगति सन्तोषजनक देखिएकोमा सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहले भने वर्ष २०७८ मा पूर्वाधार विकासमा खासै काम गरेको देखिएको छैन। प्रदेश सरकार र स्थानीय तहले टुक्रे सडक निर्माण गरेको छ।