सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका लागि सुखद हुन सकेन वर्ष २०७८

२०७९ वैशाख १, ०७:३६ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमका लागि वर्ष २०७८ सकसपूर्ण रुपमा बितेको छ। तमाम राजनीतिक घटना, कोरोना संक्रमणको प्रकोप, बेमौसमी वर्षापछि आएको बाढीपहिरोका कारण सुदूरपश्चिमवासीले वर्षभरी नै सास्ती भोग्नु परेको हो। 

वर्षको सुरूबाट नै कोरोनाको दोस्रो लहरको प्रकोप सघन रुपमा देखिएपछि जेठ दोस्रो साताबाट प्रदेशभर लकडाउन भयो। लकडाउनको कारण निकै सास्ती भयो भने उपचार अभावले धेरैजसो संक्रमितले ज्यान गुमाउनु प¥यो। 

कोरोना बढेसँगै भारतबाट आउने नेपालीको सीमा नाकामा थामी नसक्नु भिड लाग्यो भने सहजै घरसम्मको यात्रा तय गर्न सास्ती भोग्नु प¥यो। वर्षको सुरूमै कोरोनाको खोप लगाउन लाइन लाग्नुपर्ने अवस्था रह्यो भने संक्रमित विरामीले अस्पतालमा उपचार गर्न शय्या नपाउने समस्या रह्यो। कोरोनाको कारण प्रदेशभर ६३३ जनाले अकालमा ज्यान गुमाउन पुगे। 

वर्षको मध्यमा आएर दोस्रो लहरको कोरोना शान्त भएसँगै तेस्रो लहरको डेल्टा भेरियन्टको त्रास सर्वसाधारणमा रह्यो। कोरोनाको संन्त्रासकै बीच प्रदेशभर असोज ३१ देखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाको कारण पहाडी जिल्लामा पहिरो गएर राजमार्ग, बस्ती तथा खेत चपेटामा परे। तराईमा बाढीका कारण धान बालीमा ठुलो क्षति हुन पुग्यो। पहिरो र बाढीका कारण प्रदेशभर ३० जनाको मृत्यु, २१ जना बेपत्ता, १६ जना घाइते र अर्बौको धान बालीमा क्षति भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

राजनीतिक हिसावले पनि प्रदेशको राजनीति २०७८ मा सुखद हुन सकेन। दुई तिहाई नजिक रहेको नेकपा विभाजित हुँदा प्रदेशमा गठबन्धनको मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता आइलाग्यो। जेठ ८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेसँगै चुलिएको राजनीतिक समस्याको चङ्गुलमा सुदूरपश्चिम प्रदेश सभामा रहेका दलहरू पनि परे। 

जसको परिणाम नेकपा एमाले प्रदेशसभामा पहिलो स्थानबाट चौथो हुन पुग्यो। एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पहिलो दल बन्न पुग्यो भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सत्ता साझेदार हुँदै वर्षको अन्तमा प्रदेश सरकारमा सहभागी हुन पुग्यो। वर्ष २०७८ मा मात्रै प्रदेश सरकार तीनपटक पुर्नगठन भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस