सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने

२०७८ चैत्र ३०, ०८:२७ रासस

काठमाडौँ: कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।

वर्तमान सरकार गठनलगत्तै सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको थियो। मन्त्री गहतराजले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतियोगिताको आयोजना गर्न पलह गरेको बताए। “मैले मन्त्रालयको जिम्मा लिएपछि नै कोरोनाका कारण हुन नसकेको राष्ट्रिय खेलकुद आयोजना गर्न पहल गरिरहेको थिएँ”, उनले भने, “समग्र परिस्थितिको विश्लेषण गरेर सरकारले जेठको अन्तिम साता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो।”

जेठमा प्रतियोगिताको आयोजना नगरे निर्वाचनका कारण फेरि केही समय धकेलिने भएका कारण समयको चाप हुँदाहुँदै पनि खेलकुद आयोजना गरिएको उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस