पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्न सरकारले काम गरिरहेको छ :मन्त्री बडू
ललितपुरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।
मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधिसँग आज आइतवार छलफल गर्दै मन्त्री बडूले यो कुरा बताए।
विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उहाँले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताए।
नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम ढुवानी महासङ्घ र पेट्रोलियम पदार्थ डिलर्स एसोसिएशनका प्रतिनिधिले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका थिए।
पछिल्लो समय इन्डियल आयल कर्पोरेशन (आईओपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ। निगमले उपभोक्ता मूल्य बढाएर व्यवसायीलाई दिइने कमिसन नबढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए।