सुदूरपश्चिममा गठबन्धन तोड्दै जसपा
धनगढीः सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने जनाएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन मध्येको एक जसपाले सुदूरपश्चिममा गठबन्धन तोड्ने जनाएको हो।
प्रदेश सरकारमा आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै गठबन्धनबाट बाहिरिने तयारी गरिएको जसपा सुदूरपश्चिमका एक नेताले बताए। शुक्रवार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। तर, जसपालाई सहभागी गराइएको छैन। सरकारमा सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन्। केही बेरमा पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने कुरा सार्वजनिक गरिने बताइएको छ। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाको तर्फबाट एकजना प्रदेशसभा सदस्य छन् ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीमात्रै सहभागी थिए। कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नमान्ने भनेपछि कांग्रेसले दुई मन्त्री र एक राज्य मन्त्री पाएको थियो।