सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका पहिरोपीडितले अझै पाएनन् राहत, क्षतिको विवरण नै गायब

२०७८ चैत्र २५, ०१:१९ विन्दु चन्द

धनगढीः सुदूरपश्चिमका बाढीपहिरो पीडितले अझै राहत पाएका छैनन्। कात्तिकको बेमौसमी वर्षाले धनजनको ठुलो क्षति भए पनि सात पहाडी जिल्लाका पीडितले अझै राहत पनि पाउन नसकेका हुन्।

घरखेत पहिरोले लगेपछि अर्काको घरमा बसेर दैनिकी चलाउन परेको बझाङका पहिरोपीडित कलक सार्कीले बताए। पहिरोले घरखेत बगाएको ६ महिना हुँदा पनि राहत नपाएको गुनासो उनको छ। ‘६ महिनादेखि अर्काकै घरमा बसेका छौँ,’ उनले भने, ‘न बस्न घर छ, न त खेती गर्न जग्गा। दैनिकी चलाउनै मुस्किल छ।’ कात्तिकको बेमौसमी वर्षाले मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरुप एक÷एक लाख रुपैयाँ दिइए पनि पहिरोबाट घरखेत गुमाएकाहरुले भने राहत नपाएका हुन्। खेतीपाती गर्न पनि जग्गा बाँकी नरहँदा गुजारा गर्नै मुस्किल भइरहेको बझाङकै पहिरोपीडित नरबहादुर कार्कीको दुखेसो छ। क्षति भएको लामो समयसम्म पनि राहत नपाउँदा सरकार भएको महसुस नभएको उनीको गुनासो छ।

उनी भन्छन, ‘घरघरमै सरकार छ भन्छन्, विपत पर्दा खै कहाँ हरायो। अहिले पनि अर्काकै घरमा छौँ।’ कात्तिकको बेमौसमी वर्षाले सबैभन्दा बढी बझाङ, डोटी र बैतडीमा धनजनको क्षति गरेको थियो। क्षतिको विवरण संकलन गरेका स्थानीय तहहरुले अहिले पीडितहरुको कागजात नै हराएको भन्दै फर्काउने गरेको डोटीका पहिरोपीडित चेतराज भट्टले बताए। पहिरोले घर भत्किँदा अहिलेसम पालमुनी बसिरहेको उनले बताए। उनले भने, ‘त्यो समयमा एउटा पाल मात्रै पाएका थियौं, त्यही पालमुनी दिन काटीरहेका छौँ। घर भत्कियो, बस्न लायक छैन्। खेती गर्ने जमीन पहिरोले लगेपछि गुजारा चलाउन मुस्किल छ।’ विपद व्यवस्थापन समितिहरुले भने अझै स्थानीय तहहरुले राहतका लागि क्षतिको विवरण संकलन गर्न नसकेको जनाएका छन्।

पहिलो चरणमा खाद्यान्न सामाग्री वितरण गरिए पनि पुर्नस्थापनका लागि विवरण संकलन भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। ‘विपतको समयमा तत्कालका लागि खाद्यान्न स्वरुप क्षति हेरेर १५÷२० हजार बराबर खर्च उपलब्ध गराइएको हो,’ उनले भने, ‘अब घर निर्माण तथा पुर्नस्थापनाका लागि स्थानीयतहहरुलाई विवरण संकलनका लागि भनेका छौँ। विवरण संकलन हुँदैछ। क्षतिको विवरण केन्द्रमा पठाउँछौँ।’ सबैभन्दा नजिकको सरकार स्थानीय तहले जिम्मेवारी पूरा नगर्दा बाढीपहिरोले पीडित भएको ६ महिनासम्म पनि राहत नपाएको गुनासो सर्वसाधारणको छ।

उनीहरुले स्थानीय प्रशासन पनि जिम्मेवार नदेखिएको बताएका छन्। तर बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यालले भने सरकारको मापदण्डअनुसार राहत वितरण गरिएको बताए। कात्तिकको अविरल वर्षाले सुदूरपश्चिममा ३७ जनाको मृत्यु भएको थियो भने २१ जना अझै बेपत्ता छन्। यस्तै ६२६ घरमा पूर्ण रुपमा क्षति भएको थियो भने, १ हजार ८४६ घरमा आशिंक क्षति भएको थियो। २२ हजार ३६४ रोपनी जग्गामा पूर्ण रुपमा क्षति भएको थियो भने दुई सय रोपनी जग्गामा आशिंक क्षति भएको थियो।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस