सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनचेतना जगाउने काम भइरहे पनि, छाउप्रथा अन्त्य भएको छैन

२०८२ साउन ८, ०४:२०

टीकापुरः छाउप्रथा उन्मूलन नहुँदा महिलाको सुरक्षा जोखिम घट्न सकेको छैन। टीकापुर नगरपालिका– ८, ७ र २ लगायतका वडामा अझैँ छाउगोठ रहेका अधिकारकर्मी महिलाहरु बताउँछन्। 

स्थानीय कमला न्यौपानेका अनुसार छाउ प्रथाका कारण माहिलामाथि विभेद गर्नु कानुनी अपराध भए पनि समाजले अझैँ स्वीकारेको देखिदैन। ‘‘टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका ग्रामीण बस्तीमा अझैँ केही घरमा छाउगोठ छन्, छाउगोठ असुरक्षित छन्’’, उनले भनिन्, ‘‘स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवालाले जनचेतना जगाउने कार्य गरिरहे पनि समाज सुधार्न सकिएको छैन।’’

छाउप्रथाकै कारण महिलाको ज्यान नै जोखिममा पर्ने गरेको छ। महिनावारी भएका बेला छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाइँको केही दिनअघि निधन भयो। छाउगोठमा सर्पले राति डस्दा उहाँको मृत्यु भयो। कमलाको मृत्युपछि छाउ कुप्रथाबारे सुदूरपश्चिमका जिल्लामा फेरि बहस थालिएको छ।

छाउगोठमा बस्दा महिलालाई सर्पले डस्ने, हिंसा तथा असुरक्षा बढ्ने गरे पनि परम्पराका नाममा महिलामाथि अन्याय भइरहेको शिक्षक करुणा शर्माले बताईन्। “ छाउपडी कुप्रथाले किशोरी तथा महिलालाई हिंसामा पारेको छ’’, उनले भनिन्, ‘‘समाजले बुझ्ने, परिवारले सुरक्षा पहिलो अधिकार हो भनी सम्झने गर्नुपर्छ। महिनावारी पाप होइन भन्ने मानसिकता विकास आवश्यक छ।’’ 

टीकापुर–८ मा अझैँ छाउगोठ देख्न सकिन्छ। विगतमा धेरै सङ्ख्यामा रहेका केही गोठ भत्किए पनि केही गोठ पुनःनिर्माण भएका छन्। मानिसलाई सम्झाउदा पनि अझैँ सुधार नआएको वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुहुन्छ। ‘‘हामीले स्थानीय महिलाकै सक्रियतामा अघिल्लो कार्यकालमा छाउगोठ भत्कायौँ’’, उनले भनिन्, ‘‘केही घरमा घरभित्र सुत्न थालियो तर केही घरमा पुनः गोठ निर्माण भए। समाजलाई नियमित सचेत गराउँदा पनि लापरबाही गरिरहेको देखिन्छ।’’

जानकी गाउँपालिका–८, ९ लगायतका वडामा पनि छाउगोठमा अझैँ महिला बस्छन्। महिलाको सुरक्षाका लागि जोखिम रहेका छाउगोठ भत्काउन पालिकाले अभियान चलाए पनि समाजले अभ्यास गरिरहेको वडा नं ८ का वडाध्यक्ष तीर्थराज उपाध्याय बताउछन्। ‘‘हामीले थप सचेतना फैलाउनुपर्छ’’, उनले भने, ‘‘कानुनी व्यवस्थाबारे जानकारी दिने र कारबाहीका कार्य गरेमा मात्र सुधार हुने देखिएको छ।’’

छाउ प्रथा उन्मूलनका लागि गरिएका पहल सार्थक हुन नसकेका सरोकारवालाकै भनाइ छ। कानुनी रुपमा छाउप्रथा मान्नु अपराध भए पनि कार्यान्वयमा आउन सकेको छैन। टीकापुर नगरपालिकाले २०७७ सालमा कार्ययोजना बनाएर जनप्रतिनिधि सहितको सहभागितामा छाउगोठ भत्काएको थियो। महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह भन्छिन् ‘‘छाउप्रथा बार्ने, अलग्गै गोठमा सुत्नेहरु अझैँ छन् । मानिसका गलत मानसिकता भत्काउन सकिएको छैन।’’

महिनावारी भएका बेला सरसफाइ र पोषणमा ध्यान दिनुपर्नेमा गोठमा राख्ने, खान नदिने कुरा गलत भएको टीकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवालीले बताईन्। ‘‘महिनावारी पाप होइन, यो त सन्तान जन्माउनका लागि महिला सक्षम हुनु हो भनी खुसी मनाउने कुरा हो’’, उनले भनिन्, ‘‘महिनावारीमा समयमा सरसफाइ नपुग्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको छ। पर्याप्त सरसफाइ, आराम र पोषिलो खानेकुरामा मात्र ध्यान दिनुपर्छ।’’

स्वास्थ्यकर्मी ज्ञवालीले हरेक अभिभावक र महिनावारी उमेरका महिला आफँै सचेत हुन आवश्यक रहेकामा जोड दिईन्। 
 

कमेन्ट लोड गर्नुस