राखेपबाट कुलबहादुर थापाले दिए राजिनामा
काठमाडौंः सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजिनामा दिएका छन्। राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले अनलाइनखबरलाई जानकारी दिए। उनले मंगलबारै घिसिङसमक्ष राजिनामा बुझाएका छन्।
सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो। १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए।
कर्मचारीको रुपमा उनले राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरे। पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो। थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए।