वडा कार्यालय तोडफोड गर्ने ४ जना पक्राउ
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड गर्ने ४ जना पक्राउ परेका छन्। तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए।
सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन्। तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए।
वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो।