क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
तनहुँ : तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ। व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए। “क्षतिको मूल्याङ्कनसहित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ, सरकारबाट यथोचित निर्णय हुनेमा विश्वस्त छौँ”, श्रेष्ठले भने।
गृहमन्त्री खाणले आगलागीबाट पीडित भएकालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “जति क्षति भयो त्यति नै राहत दिन सरकारले सक्दैन, तर केही न केही सहयोग पक्कै गर्छौँ।” आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको थियो।