नयाँ वर्ष पारेर फुटबल प्रतियोगिता
बागलुङ: नयाँ वर्षको अवसर पारेर आउँदो वैशाख ७ देखि १० गतेसम्म यहाँ ‘राजेन्द्र स्मृति कालिका कप’ फुटबल प्रतियोगिता हुने भएको छ। संयुक्त चार युवा क्लबद्वारा आयोजित प्रतियोगिता बागलुङ नगरपालिका–४ स्थित ओडारचौर बहुउद्देश्यीय खेल मैदानमा चल्नेछ। प्रतियोगितामा १५ टोली सहभागी हुने क्लबका अध्यक्ष अभिषेक कटवाल क्षेत्रीले जानकारी दिए। प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित एक लाख र उपविजेताले ७० हजार पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिता सम्पन्न गर्न आठ लाख खर्च लाग्ने आयोजकको अनुमान छ। सेभेन–ए साइडको उक्त प्रतियोगिता नकआउट प्रणालीबाट खेलाइनेछ। फुटबलसँगै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा टोली दर्ता शुल्क रु नौ हजार तोकिएको छ। प्रतियोगिता सञ्चालनका लागि वडाले रु दुई लाख र दिवङ्गत राजेन्द्र कटवाल क्षेत्रीका परिवारले एक लाख सहयोग गरेको क्लबका सहसचिव रोशन कुँवरले बताए। उनका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारको प्रबन्ध गरिएको छ।