सुदूर नेपाललाई विश्वसँग जोड्दै

टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

२०७८ चैत्र २०, ०७:०६ रासस

रुपन्देही : रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइनेछ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन्। उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो। उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छवटा सहयोग सङ्घसंस्था परिचालन गरिनेछ।

बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको छ। लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ। यसैगरी रुकुमपूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताए। दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप सञ्चालन गर्न लागिएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस