कांग्रेस प्रदेश सभापति बलायरले फेरे बोली, बझाङ पुगेर दिए गठबन्धन गर्ने संकेत
बझाङ: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नहुँने बताउँदै आएका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बोली फेरेका छन्। गत महिना डोटी, केही दिनअघि दार्चुला र डडेल्धुरामा आयोजित कार्यक्रममा हालको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा नरहने बताउँदै आएका उनको अडान बझाङ पुगेर फेरिएको हो।
बुधबार बझाङको खप्तड छान्ना गाउँपालिकामा भएको कार्यक्रममा उनले कांग्रेसले जित्ने ठाउँमा गठबन्धन नहुने तर कांग्रेस कमजोर भएको ठाउँमा गठबन्धन गर्ने बताएका छन्। ‘अब कांग्रेसले नेपाली जनतालाई आफ्ना एजेन्डालाई प्रष्ट रूपमा जनतासमक्ष लिएर जानुपर्छ। केन्द्रीय कार्यसमितिले नै गठबन्धन गर्ने निर्णय गरेपछि सुदूरपश्चिमा नहुने भन्ने छैन’ उनले भने।
यसअघि उनले पार्टीका सभापति शेरबहादुर देउवाको भनाइलाई काट्दै आएका थिए। उनी कांग्रेस अरूको आशामा बाँच्ने परनिर्भर पार्टी नभएको भन्दै गठबन्धन आवश्यक नभएको बताउँदै आएका थिए।