सुदूर नेपाललाई विश्वसँग जोड्दै

अघोषित लोडसेडिङको मारमा सुदूरपश्चिम

धनगढी
धनगढी
२०७८ चैत्र १७, ०७:३७ विन्दु चन्द

धनगढी : सुदूरपश्चिमवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसंगै जानकारी बिना लामो समयका लागि बिजुली जाने-आउने हुँदा सास्ती बढेको हो।

सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रसारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको पाइएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लाहरुमा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउँजाउँ गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्।

उनले भनिन्, ‘विहान, दिउँसो र राति हरेक समयमा बत्ती जाने गर्दा हौरान बनाएको छ। गर्मीले घरभित्र बस्न सकिन्न। गर्मीमा जहिल्यै बत्ती जान्छ।´ साना बालबालीकाहरुलाई बत्ती नहुँदा गर्मीले सास्ती बढाएको उनले बताइन्।

बत्ती जाँदा चार्ज गर्नुपर्ने अवस्थामा ब्याट्री नै विग्रिने समस्या रहेको धनगढीका विद्युतिय रिक्सा चालक उदिप चौधरीले बताए।

‘अटो चार्ज गर्नुपर्ने हुन्छ,´ उनले भने, `तर समयसमयमा झ्याप्प झ्याप्प बत्ती जाँदा ब्याट्री विग्रिने वा पड्किने डर हुन्छ। दिनभर अटो चलाएर गुजारा गर्छौँ।’ बत्ती जाने समस्याका कारण विद्यार्थीलाई पनि बढी समस्या भइरहेको छ।

अनलाइन कक्षा पढ्ने विद्याथीहलाई झन समस्या भइरहेको हो भने वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थी पनि आजित भएका छन्। बत्ती आउँजाउँ गर्दा पढ्न समस्या भइरहेको एक जना विद्यार्थी शिक्षा भट्टले बताइन्। उनले भनिन्, ‘हरेक समयमा बत्ती जान्छ। परिक्षा आइरहेको छ। पढ्नै पाइन्न।’

तराइमा मात्रै नभएर पहाडी जिल्लाहरुमा समेत समयसमयमा बत्ती जाने गरेको छ। कुनै समयतालीका बिना तथा जानकारी बिना बत्ती जाने गर्दा समस्या भइरहेको गुनासो बैतडीका लक्ष्मण विसीको छ।

उनले भने, ‘कुनै समयतालीका छैन, न कुनै जानकारी। समयसमयमा बत्ती जाने गर्दा विद्यार्थीहरुलाई धेरै समस्या भइरहेको छ। विद्युतबाट चल्ने उपकरण पनि खराब हुने समस्या छ।’

तर नेपाल विद्युत प्राधिकरणले भने मर्मत सम्भारको कारण विद्युत कटौती गर्नुपरेको बताएको छ। साथै गर्मी बढेपछि छिनछिनमा विद्युत आउनेजाने समस्या बढेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख जगंबहादुर चन्दले बताए।

उनले अहिले सडक निर्माणका काम तथा पोलहरु सार्ने काम भइरहेको हुँदा बत्ती गएको हुन सक्ने बताए। उनले भने, ‘अहिले गर्मीको समय पनि हो। गर्मीमा बढी जसो पखां, मोटर लगायतले बढी भोल्टेज खाने भएकाले ट्रान्सफर्मरको क्षमता बढाइरहेका छौँ। गर्मीलाई तारगेट गरेर काम भइरहेको छ।´

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस