धनगढीमा सुरु भयो ‘सुदूरपश्चिम महोत्सव’
धनगढी : अघिल्लाे वर्ष काेराेना भाइरसकाे महामारीले हुन नसकेकाे सुदूरपश्चिम महोत्सव यसवर्ष भने आजदेखि सुरु भएको छ। कैलालीको धनगढीमा १५औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु भएकाे हाे।
महोत्सवको एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। कैलाली उद्योग वणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। उनका अनुसार महोत्सवमा झण्डै तीन सय स्टलमा राखिएको छ।
यस अघिका वर्ष प्रदेश प्रहरी कार्यालयको मैदानमा हुँदै आएको महोत्सव यसवर्ष भने धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सुरु भएको हो। महोत्सव प्रत्येक दिन विहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ।