सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारमा नेतृत्व खोज्दै काँग्रेस र नेकपा (एस), मुख्यमन्त्री नदिने मुडमा माओवादी

२०७८ चैत्र ३, ०६:०७ नारायण अवस्थी

धनगढी: नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनले केन्द्र र अन्य प्रदेशमा सत्ता साझेदारी गरेपनि सुदूरपश्चिम प्रदेशमा भने काँग्रेस सरकार बाहिरै रहेको छ। तर सुदूरपश्चिम सरकारमा काँग्रेस सहभागी हुने भन्ने चर्चा फेरि चलेको छ। 

काँग्रेस सरकारमा सहभागी हुने चर्चा चलेसँगै प्रदेश सरकारको नेतृत्वबारे पनि सत्ता गठबन्धनको फरक/फरक धारणा सार्वजनिक हुन थालेको छ। नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन्, भने माओवादी केन्द्रले अहिलेकै नेतृत्वमा काँग्रेसले सहभागी हुनुपर्ने बताएको छ। 

केन्द्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाको सत्ता गठबन्धन बनेसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने तय भएको थियो। तर नेकपा समाजवादी र नेकपा माओवादीको सरकार बनाउन स्पष्ट बहुमत पुगेसँगै काँग्रेसको सहभागिता बिना नै मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत हाँसिल गरेका थिए। त्यसयता गठबन्धनमा आवद्ध सबै दलसँग सत्ता साझेदारी हुनुपर्ने माग राख्दै आएको नेपाली काँग्रेसले सरकारको नेतृत्व परिवर्तन गरेर सरकारमा सहभागी हुने सुनिश्चितता खोजेको हो। 

सरकारको नेतृत्व आफैं लिएर या नयाँ नेतृत्व चयन भए सरकारमा सहभागी हुने तयारीका साथ छलफल भइरहेको नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले दिनेशखबरलाई बताए। ‘हामीले सरकारमा नेपाली काँग्रेसको सहभागिता हुनुपर्ने स्वाभाविक कुरा उठाएका छौँ’ उनले भने, ‘अहिलेकै नेतृत्वमा सरकारमा सहभागी हुनेभन्दा पनि नेपाली काँग्रेसले नै नेतृत्व गर्ने कुरा गरेका छौँ तर टुङ्गो भने लागेको छैन।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूले भने सरकारमा नेपाली काँग्रेसको सहभागिता हुनुपर्ने बताएका छन्। तर केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलका बीच दुई/दुई प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा समाजवादीको नेतृत्वमा सरकार बन्ने तथा मधेश प्रदेशमा जसपाको नेतृत्वमा सकार रहेकोले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नहुने पक्षमा माओवादी छ। 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा नेकपा माओवादीले नेतृत्व गर्नु केन्द्रमा नै भएको सहमति भएकोले सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन नहुने दाबी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामीको छ। ‘सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नगरेरै नेपाली काँग्रेसको सरकारमा सहभागिता होस् भन्ने प्रदेश सरकारको चाहना छ’ उनले भने, ‘काँग्रेसको सरकारमा सम्मानजनक सहभागिता गर्न हामी तयार छौँ।’

प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने मान्यता नेकपा समाजवादीका नेताहरूको पनि रहेको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दलसमेत रहेको समाजवादीका १४ जना प्रदेशसभा सदस्य रहेका छन्। दोस्रो दल नेकपा माओवादीका १३ सदस्य, नेपाली काँग्रेसका १२, नेकपा एमालेका १० तथा जसपा र लोसपाका एक/एक सदस्य छन्। काँग्रेसको सरकारमा सहभागिता स्वाभाविक रहेको तर आफूहरु नेतृत्वसमेत परिवर्तन हुनुपर्ने पक्षमा रहेको नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज मदनकुरमारी शाहले दिनेशखबरलाई बताए।‘सरकारमा नेपाली काँग्रेसको सहभागिताबारे कुरा उठ्नु स्वाभाविक हो’ उनले भने, ‘नेताहरू बीच केन्द्रमा छलफल चलिरहेको छ। तर सुदूरपश्चिम प्रदेशमा नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ।’ 

नेपाली काँग्रेस र नेकपा समाजवादीले सरकारको नेतृत्व गर्न तयार रहेको बताइएपनि केन्द्रमा भने ठोस निर्णय भइसकेको छैन। नेकपा माओवादीले नेपाली काँग्रेस सरकारमा सहभागी भए मन्त्रालय बाँडफाँडमा सम्मानजनक हैसियत प्रदान गरिने जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने नहुने केन्द्रीय नेताहरूको निर्णयमा भर पर्ने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस