कञ्चनपुरमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड : शारदा मावि विजयी
कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ। प्रतियोगितामा शारदा राष्ट्रिय मावि प्रथम भएको हो। त्यस्तै, सरस्वती मावि द्वितीय र रामेश्वर मावि तृतीय भएको छ।
सो गाउँपालिकामा रहेका मावि तहका विद्यालयहरूमध्ये ६ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। जितसँगै शारदा माविले आउँदो वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ। यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको व्यवस्थापक विद्यालय रामेश्वर मावि चान्देव रहेको थियो।
लालझाडी गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरूमा प्रतिस्पर्धा गराइएको रामेश्वर माविका प्रधानाध्यापक रामप्रसाद जोशीले बताए। 'मूल्यउन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडीको आवरण' भन्ने मूल नारासहित आइतबार लालझाडी खेलमैदान कञ्जमा प्रतियोगिता आयोजना गरिएको थियो। लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले गाउँपालिकाले दश वर्षे शिक्षा क्षेत्र योजना निर्माण गरी कार्य गरिरहेको र लालझाडी प्रज्ञा प्रतिष्ठानको स्थापना गरी शिक्षाका बहुआयामिक गतिविधि गरिरहेको बताए।
गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विभिन्न उत्पादनमूलक गतिविधि गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक विद्यार्थीहरूलाई विभिन्न कलात्मक तथा सीपमूलक तालिम, विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्न गणित पार्क, बाल उद्यान निर्माण तथा वृक्षारोपण जस्ता क्रियाकलाप र विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षणका लागि विद्यालयमा नर्स समेत परिचालन गर्ने गरेको बताएको छ ।