सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको मुख्य सडककै बेहाल

२०७८ फाल्गुन २९, ०२:१३ विन्दु चन्द

धनगढीः  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक खाल्डाखुल्डीले बेहाल भएको छ। एकै आर्थिक वर्षमा पटकपटक मर्मत गर्दा पनि गुणस्तरिय काम नहुँदा मुख्य बजारकै सडकको बेहाल भएको हो। सडकमा परेका सयौँ खाल्डाखुल्डीका कारण राजधानीवासीले सास्ती भोग्नु परेको बताएका छन्।

सडकमा परेका खाल्डाले आवतजावत गर्नै मुस्किल भएको स्थानीय हरिश ठगुन्नाले बताए। उनले भने, ‘खाल्डाले मुख्य सडक भएर आवागमन गर्नै मन लाग्दैन।’ सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको अर्का स्थानीय लोकेश बिसीले बताए। ‘खाल्डाखुल्डीकै कारण दुर्घटना हुने गरेको छ भने दिनमा पटकपटक सवारी जाम हुने गरेको ५,’ उनले भने, ‘रातिको समयमा आवतजावत गर्दा झन सास्ती हुने गरेको छ।’ सडकमा परेका खाल्डाले सवारी साधनमा पनि क्षति हुने गरेको चालकहरुले बताएका छन्।

सडकको दुरावस्थाका कारण सवारी साधन पटकपटक बिग्रिने गरेको अटो चालक टेकबहादुर बिकले बताए। उनले भने, ‘खाल्डाले धेरै हैरान बनाएको छ। सवारी साधनमा समेत क्षती हुने गरेको छ। ६ महिना चल्ने टायर २÷३ महिना पनि टिक्दैन। दिनभरको कमाई सवारी मर्मतमै ठिक्क भइरहेको छ।’ सडक बोर्ड नेपालको ७० प्रतिशत अर्थात ६७ लाख १५ हजार र धनगढी उपमहानगरपालिकाको ३० प्रतिशत अर्थात २८ लाख ७७ हजार गरी ९५ लाख ९३ हजार खर्चेर उपमहानगरपालिकाले मुख्य सडक कालोपत्रे गरेको थियो।

टालटुल गरिएको सडक भत्किएपछि तीन महिना अघि मसिंरमा फेरि ५ लाखको खर्चमा मुख्य सडक मर्मत गरिएको थियो। भत्किएको सडक मर्मत गर्न हाल कुनै कार्यक्रम नरहेको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘टालेका खाल्डा सबै भत्केका छन्। अहिले मर्मतको कुनै कार्यक्रम छैन।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस