सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा गोल्डकप : घरेलु टोली झापा ११ विजयी

२०७८ फाल्गुन २८, ०८:०८ रासस

झापा: झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ। प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो। झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे। उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे। १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन्। अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे।

खेलको ५५औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए। ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो। ८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन्। विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन्।

खेलमा सङ्कटाले बनाएका मुभ विपक्षी टिम खेलाडीले विफल बनाए। सङ्कटाले खेलको २३औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए। ३०औँ मिनेटमा सङ्कटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए। ३२औँ मिनेटमा सङ्कटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए।

८१औँ मिनेटमा सङ्कटाका दिपेश आलेमगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे। खेलको अतिरिक्त समयमा फोडे फोफोनाले शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए। जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो। यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ। गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस