सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई निर्मला हत्या प्रकरणको जवाफ ल्याएर सुदूरपश्चिम आउँन संसदमा आग्रह

२०७५ माघ ११, ०२:४० खबर संवाददाता

नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले कञ्चनपुरकी १३ बर्षिय किशोरी निर्मला पन्तलाई न्याय खोई ? भन्ने प्रश्नको जवाफ सहित सुदूरपश्चिम आउँन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोलेका काँग्रेसबाट प्रदेशसभा सदस्य रहेका डिल्लीराज पन्तले प्रधानमन्त्री सुदूरपश्चिम आउने सुनेकाले निर्मला पन्तकालाई न्याय खोई भन्ने प्रश्नको जवाफ लिएर आउन आग्रह गरेका हुन्।

पन्तले लामो समय सम्म निर्मला हत्या प्रकरणको वास्तविकता गर्भमै रहेकाले त्यसको जवाफ बोकेर सुदूरपश्चिम आउँन प्रधानमन्त्री ओलीलाई आग्रह गरे। 

प्रधानमन्त्री ओली सुदूरपश्चिम महोत्सवको उद्धघाटनका लागि माघ २१ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने कार्यतालिका पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सभामुख अर्जनबहादुर थापाले शुक्रबारको संसद बैठकमा यसको जानकारी गराएका थिए ।  

यस्तै प्रदेशसभा सदस्य पन्तले पुर्नवासमा भारतीय पक्षले एकलौटी रुपमा नाली खनिरहेको र चुरेमा अवैध रुपमा रुख कटानी भइरहेको विषयमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशसभाको सचिव र सचिवायलय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ पेश भएको छ। यस्तै सामाजिक विकास समितिले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ माथि संशोधन गर्नुपर्ने बुँदा सहितको प्रतिवेदन पनि प्रदेशसभा बैठकमा पेश गरेको छ। सामाजिक विकास समितिकी सभापति कुन्ति जोशीले सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमा संशोधन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन सभामा पेश गरेकी हुन्।     

कमेन्ट लोड गर्नुस