सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कन्द्रा सिँचाई आयोजनाका मजदुरले डेढ बर्ष सम्म मजदुरी पाएनन्

कन्द्रा सिँचाई योजनामा मजदुरी काम गरेका रामबहादुर बुढामगर (दायाँ) सुधराम चौधरी (बाँया) गौरीगंगा नगरपालिका वडा नं. ७ का अध्यक्ष दल बहादुर कुमाल (बिच)लाई आफुले काम गरेको रकम उपलब्ध गराइ दिन अनुरोध गर्दै ।
कन्द्रा सिँचाई योजनामा मजदुरी काम गरेका रामबहादुर बुढामगर (दायाँ) सुधराम चौधरी (बाँया) गौरीगंगा नगरपालिका वडा नं. ७ का अध्यक्ष दल बहादुर कुमाल (बिच)लाई आफुले काम गरेको रकम उपलब्ध गराइ दिन अनुरोध गर्दै ।
२०७५ माघ ११, ११:१२ नवराज पनेरु

कैलालीको कन्द्रा सिँचाई आयोजनाको काम सम्पन्न भएको डेढ बर्ष सम्म पनि आयोजनामा काम गरेका १९ जना मजदुरले मजदुरी नपाएको गुनासो गरेका छन्। आयोजनाको काम सकिएको डेढ बर्ष सम्म पनि मजदुरी नपाएपछि अहिले १९ जना मजदुरहरु विभिन्न सरकारी निकाय धाउन थालेका छन्। डेढ बर्ष अगाडि झण्डै ढाई करोड लगानीमा कन्द्रा सिँचाई उप आयोजना निर्माण सम्पन्न भएको थियो। आयोजनाको बाँध र नहर निर्माणमा काम गरेका १९ जना मजदुरले झण्डै एक लाख २८ हजार मजदुरी वापतको रकम पाउन बाँकी रहेको आयोजनाको उपभोक्ता समितीका अध्यक्ष मोहन सावदले जानकारी दिए।

डेढ बर्ष सम्म मजदुरी नपाएपछि समस्यामा परेको मदजुर रामवहादुर बुढामगरले बताए। उनले १९ जना नै दिनभरी मजदुरी गरेर साँझ विहानको छाक टार्ने भएपनि निर्माण व्यवासायीले डेढ बर्ष सम्म मजदुरी नदिएर समस्यामा पारेको बताए। अर्का मजदुर सुधराम चौधरीले आयोजनाको निर्माण सम्पन्न भएदेखि नै निर्माण व्यवासायी र पेटी ठेकेदारहरु सम्पर्कमा नआएको बताए। १९ जना मजदुरले कैलालीको गौरीगंगा नगरपालिकामा निवेदन दिदै निर्माण व्यवासायीलाई कानुनी दायरामा ल्याउँदै रकम असुल गरिदिन माग गरेका छन्। 

कन्द्रा सिँचाई उपआयोजना उपभोक्ता समितीका अध्यक्ष मोहन साउँदले आयोजना कार्यान्वयन गरिरहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालयलाई मजदुरको मजदुरी नदिए सम्म निर्माण व्यवसायीको भुक्तानी रोकिदिन माग गरेपनि प्राविधिक कार्यालयले सबै भुक्तानी दिएको बताए। उनले आयोजनाको काम पूर्ण रुपमा सम्पन्न नहुँदै भुक्तानी दिईएको पनि आरोप लगाए।  

यता आयोजनाका निर्माण व्यवसायी चन्द्रशेखर मल्लले भने तत्कालीन प्राविधिक कार्यालयले ५ लाख रकम रोक्का गरिदिएकाले मजदुरलाई रकम दिन नसकेको बताए। उनले पेटी ठेकेदार केशव रावल, खड्क थापा लगायतलाई भुक्तानी दिईसकेको दावी गरे। उनले मजदुरको रकम दिन बाँकी रहेको स्वीकार गर्दै केहि दिनमै तिर्ने पनि दावी गरे। कन्द्रा सिँचाई आयोजना सामुदायिक सिँचाई आयोजना अन्तरगत झण्डै ढाई करोडको लगानीमा जिल्ला प्राविधिक कार्यालय मार्फत निर्माण भएको थियो। योजना निर्माण व्यवसायीले सरकारलाई हस्तान्तरण गरिसकेको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस