रियल र म्यानचेस्टर क्वाटरफाइनलमा
काठमाण्डौँः फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।
दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजीलाई समग्रमा ३–२ गोलले पराजित गरी रियल अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो। दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम–१६ बाटै बाहिरियो।
घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा बेन्जेमाले दोस्रो हाफको १७ मिनेटभित्र ह्याट्रिक गरे। रियलका कप्तान बेन्जेमाले खेलको ६१औं, ७६औं र ७८ औँ मिनेटमा गोल गरे।
बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। त्यसअघि खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। तर पिएसजीले अग्रता जोगाउन सकेन।
अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ क्लबले गोलरहित बराबरी खेलेका छन्। गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ५–० गोलको जित निकाल्दै सिटी अन्तिम आठमा पुगेको हो।