सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता, भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग

२०७८ फाल्गुन २३, ०६:०५ रासस

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणसँग महिला सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाँणलाई भेटी नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल आग्रह गरेका हुन्।

सो अवसरमा एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अवस्था निर्माण गर्न आग्रह गरे। वैवाहिक अङ्गीकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानून बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो।

नागरिकतासम्बन्धी विषयले उमेर पुगेका पनि बैंक खाता खोल्न, पढ्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएकाले यथाशीघ्र समस्या समाधान गर्न पहलकदमी लिई दिन गृहमन्त्रीलाई उनीहरुले आग्रह गरेको मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

भिजिट भिसाबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयवस्तु समेटिएको भन्दै सच्याउन आग्रह गरे।

पछिल्ला बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरुले आग्रह गरेका थिए। संविधानको मर्म र भावनाअनुरूप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत उम्मेदवारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने विषय पनि सो अवसरमा उठाएका थिए।

म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत महिला घटाउने विषयमा पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए। सो अवसरमा कांग्रेस सहमहामन्त्री उपाध्यायले अपराधमा ‘जेन्डर’ जोडिन नहुने बताइन्। स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्याउनुपर्ने तथा वडा अध्यक्षमा महिलाको सङ्ख्या कम रहेकाले बढाउने पहल पनि सरकारबाट हुनुपर्ने उनले माग गरिन्। 

सो अवसरमा गृहमन्त्री खाँणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताए।

कमेन्ट लोड गर्नुस