सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि सुदूरपश्चिम खप्तड गोल्डकप

२०७८ फाल्गुन १८, ०५:३७ खबर संवाददाता

धनगढी: भोलिदेखि सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। क्लवका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए। यस्तै प्रतियोगिताको तयारीबारे जानकारी दिन आज आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ।

भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लवका अध्यक्ष हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन्।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्।

कमेन्ट लोड गर्नुस