सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनको स्वार्थका कारण मुलुक जटिलतातर्फ गयोः लेखराज भट्ट

२०७८ फाल्गुन १८, ०३:२५ खबर संवाददाता

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले देशका तीन वटा अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘कोमामा’ पुगेको टिप्पणी गरेका छन्। भट्टले सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्ना स्वार्थ पूर्तिका लागि तीन वटा अंग ‘कोमामा’ पारिदिएका कारण मुलुक जटिलतातर्फ गएको भन्दै निकासको आवश्यकता रहेको बताएका हुन्।

बुधबार धनगढीमा आयोजित प्रेस चौतारी कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुुभकामना कार्यक्रममा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा मुलुक जानुपर्छ भनेर प्रतिनिधिसभा विघटन गरेको कुरालाई विकसीत घटनाक्रमले पुष्टि गर्दै लगेको उल्लेख गरे। ‘मुलुक ताजा जनादेशमा जाने कुरा सही थियो भनेर अदालतभित्र देखिएको समस्या, गठबन्धन सरकार र प्रतिनिधिसभामा देखिएका गतिविधिले पुष्टि गर्दै लगेको छ,’ भट्टले भने, ‘सभामुुखले पार्टीको कार्यकर्ताको भूमिका खेल्दा व्यवस्थापिका, प्रतिनिधिसभा पनि कोमामा जान पुगेको छ। कार्यपालिका र न्यायपालिकाको हालत पनि उस्तै छ।’ 

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरोधकाबीच एमसीसी पारित गरिएको सन्दर्भमा पार्टी अध्यक्षले स्पष्ट रुपमा पार्टीको धारणा राखिसकेको भन्दै उनले सत्तारुढ दलकै कारण मुलुक गम्भीर अवस्थामा पुुगेको जनाए। पत्रकारहरुले जनयुद्धका बेला खेलेको भूमिकाको स्मरण गर्दै लोकतन्त्रको रक्षाका निमित्त समेत सञ्चार जगतले खेलेको भूमिकाको प्रशंसा समेत गरे।
 

कमेन्ट लोड गर्नुस