सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीपोखरी सर्वसाधारणका लागि खुला

२०७८ फाल्गुन १७, ०९:०२ रासस

भक्तपुर: भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरे। सो अवसरमा उहाँले  ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गरे।

अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको बताए। उनले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापर्बाही भएको बताए। 

पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने भन्दै उनले सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुरको कला, संस्कृति र पहिचानलाई पोखरीको जीर्णोद्धारसँगै जीवित राखेको उल्लेख गर्दै उपभोक्ता समितिबाटै पोखरीको जीर्णोद्वार सम्पन्न हुनुले ठेकेदारले भन्दा उपभोक्ताले राम्रो काम गर्नसक्ने सावित भएको बताए। 

सो अवसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा  निर्माण गराएको काठमाडौँको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाकै पुरानो भएको बताए। पन्ध्र रोपनी पाँच आना दुई पैसा क्षेत्रफलमा रहेको पोखरीको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्वार गरिएको छ। पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनःनिर्माण गरिएका छन्।  

रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो। नगरपालिकाको कूल चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको प्रजापतिले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस