सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बर्सेनि तीन हजारले पाउँछन् सीप, उपलब्धि कति ?

२०७८ फाल्गुन १५, १०:२६ नारायण अवस्थी

धनगढी  : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सुदूरपश्चिमका तीन हजार बढीले सीप पाउँदै आएका छन्। सिटिइभिटीले बर्सेनि तीन हजार बढीलाई तालिम दिँदै अएको हो। सिटिइभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयले चालू आर्थिक वर्षमा पनि २ हजार १ सय ४० जनालाई छोटो अवधिको सीपमुलक तालिम दिने जनाएको छ। 

सिटिइभिटीले प्रदेशभर २१ किसिमका सीप सिकाउन १ सय ७ समूहमा तालिम प्रदान गर्ने बताएको छ। प्रदेशका मुक्त कमैँया, कमलहरी, मुक्त हलिया र विपन्न वर्ग तालिम प्राप्त गर्ने लक्षित समूह रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)का सुदूरपश्चिम निर्देशक डाक्टर कुष्माकर भट्टले बताए।

'प्रदेश सकारको नीति तथा कार्यक्रमअनुसार हामीले तालिमका लागि लक्षित वर्गमा मुक्त कमैयाँ, कम्लहरी, मुक्त हलिया र विपन्न वर्गलाई समेट्ने योजना बनाएका छौँ,' उनले भने, 'आगामी चैतबाट तालिम सञ्चालन गर्नेगरी सबै तयारी भएको छ।' सिटिइभिटीको पाठ्यक्रमअनुसार तीन महिने तालिममा मोटरसाइकल मर्मत, कपाल कटाई, डकर्मी, सिकर्मी, मोवाइल मर्मतकर्ता, सडक कालोपत्र गर्ने, पशुपालन, कुक र कृषिसम्बन्धि हरेक वर्ष प्रदेशभर तीन हजारको हाराहारीमा तालिम दिइने सिटिइभिटीले जनाएको छ।

सिटिइभिटीले लेवल १ देखि लेवल ४ सम्म विभिन्न किसिमका तालिम दिने गरेको छ। तालिम प्राप्त जनशक्तिको सीप परीक्षणपछि प्रमाणपत्र दिने र त्यो प्रमाणपत्रको आधारमा स्वदेश तथा विदेशमा सहजै रोजगारी पाउन सकिने बताइएको छ। स्वदेशमै स्वरोजगार हुन चाहने व्यक्तिलाई आर्थिक सहयोग गर्ने नीतिसमेत रहेको निर्देशक भट्टले दिनेशखबरलाई बताए।

'प्रदेश सरकारले सीप सिकेका व्यक्तिलाई सुरुमा लागानी गर्न आर्थिक सहयोग गर्ने नीति लिएको छ,' उनले भने, 'सीप सिकेपछि व्यवसाय सञ्चालन गर्न बिउ पुँजी सरकारले दिने व्यवस्था पनि मिलाइने छ।' सिटिइभिटीले इन्जिनियरीङ, कृषि, अतिथि सत्कार तथा पर्यटन, सिलाई कटाई र कपाल काट्ने सीप सिकाएर युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन हरेक वर्ष छोटो अवधिका सीप सिकाउँदै आएको हो। 

सिटिइभिटीले हजारौंलाई सीपमूलक तालिम दिने गरे पनि नेपालीहरू काम खोज्न विदेशिने र यहाँ दक्ष कामदार भने छिमेकी देशबाट ल्याउनुपर्ने अवस्था कायम छ । 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस