मन्त्री झाँक्रीलाई सचेत गराउने समाजवादी मोर्चा संगठनको निर्णय
काठमाडौंः नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको छ। बुधबार बसेको बैठकले मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्याउन सचेत गराउने निर्णय भएको एक सहभागीले बताए।
‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ। तर रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहनुभएकाले सचेत गराउने निर्णय भएको छ’, ती सहभागीले भने। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबारे पनि छलफल भएको थियो। तर मन्त्री झाँक्रीमा छलफल बढी केन्द्रित भएको नेताहरुले बताएका छन्। मोर्चा संगठनको प्रमुख उपमहासचिव विजय पौडेल छन्। मन्त्री झाँक्रीले सरकारमा रहेर सरकारकै कार्यक्रमको विरोध जनाउन नहुने बताउँदै आएकी छन्।
प्रतिनिधिसभामा पेश भएको एमसीसीविरुद्ध एकीकृत समाजवादीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन्। तर मन्त्री झाँक्रीले भने सरकारमा सहभागी भएपछि दोहोरो भूमिकामा रहन नहुने अभिव्यक्ति दिएकी थिइन्।