त्रिभुवन विमानस्थलको बार नाघेर विमान चढ्न पुगेपछि...
काठमाडौंः गत सोमबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना नेपाल एयरलायन्सको विमानको ढोकामा विना बोर्डिङपास पुगेको पाइएको छ। उनी दुबई उड्न लागेको विमानको ढोकामा पुगेका हुन्।
त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुले ती व्यक्ति कसरी विमानसम्म पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि खुलेको छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिनेगरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम रहेको खुलेको छ।
सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए। विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो। तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन्। उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए।
अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ। तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो। तर, यसपटक आलममाथि विस्तृत अनुसन्धान हुने विमानस्थल प्रमुख ठाकुले बताए। आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन्।