सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीविरुद्धको आन्दोलनमा हिंसा भड्काउन ‘पेट्रोल बम’

तस्बिर : योहो टीभीको भिडियोबाट
तस्बिर : योहो टीभीको भिडियोबाट
२०७८ फाल्गुन ९, ०२:४६ खबर संवाददाता

काठमाडौंः अमेरिकी सहयोग परियोजना संसद्मा टेबल भइसकेको छ। सो सम्झौताविरुद्ध पछिल्लो दुई सातादेखि राजधानी काठमाडौंमा आन्दोलन चर्कंदो छ। प्रदर्शनमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत पार्टीका युवा, विद्यार्थी संगठन अग्रमोर्चामा देखिएका छन्।

आन्दोलनमा दर्जनौँ प्रर्दशनकारी र प्रहरी घाइते भएका छन्। आन्दोलन हिंसात्मक बनाउन केही समूह सक्रिय रहेको पाइएको छ। प्रहरीमाथि आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरूले ‘पेट्रोल बम’ प्रहार गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार प्रदर्शनकारीहरूबाट ‘पेट्रोल बम’ प्रहार भएको हो। एसएसपी गिरीले भने, “धन्न कसैमाथि ‘पेट्रोल बम’ परेन। नत्र ज्यानकै जोखिम हुनसक्थ्यो। प्रदर्शन शान्तिपूर्ण हुँदा हामीले बल प्रयोग गरेका छैनौँ। तर, पछिल्लो समय आन्दोलन हिंस्रक बन्दै गएको छ।”

बिजुलीबजारमा केही युवाहरूले ‘पेट्रोल बम’ बनाइरहेको सूचना प्रहरीसम्म पुगेको थियो। ‘पेट्रोल बम’ बनाउने समूह फेला नपरे पनि प्रहरीले ‘पेट्रोल बम’ र अन्य सामग्री भने बरामद गरेको छ। हिंसा भड्काउने उद्देश्यले नै ‘पेट्रोल बम’, रडलगायत घरेलु हतियारको प्रयोग आन्दोलनमा भएको प्रहरी अधिकारीहरूको बुझाइ छ। सुरक्षा अधिकारीहरूका अनुसार आन्दोलनमा माओवादी केन्द्रका नेता–कार्यकर्ता बढी सहभागी थिए। वाईसीएल र अखिल क्रान्तिकारीका नेता–कार्यकर्ता आन्दोलनमा बढी उग्र देखिएको सुरक्षा अधिकारीहरू बताउँछन्।

कमेन्ट लोड गर्नुस