सुदूरपश्चिममा यसरी हुँदैछ स्थानीय तह चुनावको तयारी
धनगढी: सरकारले आगामी वैशाख ३० गते तोकेको स्थानीय तहको चुनाव गर्न निर्वाचन कार्यालयहरू तयारीमा जुटेका छन्। कैलालीको धनगढीमा रहेको प्रदेश निर्वाचन कार्यालयसँगै अन्य जिल्लामा रहेका निर्वाचन कार्यालयले स्थानीय तहको चुनावको तयारीमा जुटेको बताएका छन्। तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आफूहरु तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्रप्रकाश थारूले बताए। ‘वैशाख ३० मा हुने निर्वाचनको तयारीअन्तर्गत प्रथम चरणको काम सुरु भएको छ’ उनले भने, ‘अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ। नामावली उपर दाबी विरोध गर्न आह्वान गरिएको छ।’
निर्वाचन कार्यालय बाजुराले पनि स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको जनाएको छ। मतदाता परिचय पत्र हराएको अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन अह्वान गर्नुका साथै १९ फागुनबाट मतदाता नामावली प्रकाशित गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख राजेश भट्टराईले दिनेशखबरलाई बताए। ‘केहि दिनमा वडा कार्यालयमै नामावली वितरण गर्ने छौँ। निर्वाचन आयोगको कार्यतालिका अनुसार काम भइरहेको छ’ उनले भने।
मतदाता नामावली प्रकाशन गर्नुपूर्व मृत्यु भएका, बसाइसराई गरेका नामहरू उपर दाबी विरोध गर्न अधिकारीहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्। मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यमा निर्वाचन कार्यालयहरू जुटेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमदत्त भट्टले बनाए। उनले भने, ‘निर्वाचन तयारीमा सबै निर्वाचन कार्यालय जुटेँका छन्। हामी वडामै मतदाता नामावली प्रकाशनको चरणमा छौँ।’
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि पालिकाका र वडा कार्यालयमा मतदाता नामावली विवरण पुगाउने काम भएको बताएका छन्।