कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दररी गाउँपालिका-६ स्थायी घर भई कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा डेरा गरी बस्दै आएका ५७ वर्षीय बृख कामी रहेको प्रहरीले बताएको छ।
शंका लागि चेकजाँच गर्दा उनको साथबाट ९२ ग्राम भालुको पित्त र २४ ग्राम यार्सागुम्बा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कामीको कोठाको तलासी गर्दा थप ५०० ग्राम यार्सागुम्बा फेला परेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए।
शनिबार प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआईटी टोली र इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका ५ वनदेवी मन्दिरबाट उनलाई नियन्त्रणमा लिएको थियो। कामीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइने सूचना अधिकारी बमले बताए।