रहेनन् धनगढीका व्यवसायी पाठक
धनगढी : ‘मृत्युमा महिलाले डाको छोडेर रोएको त धेरै सुनेको थिए, तर पुरुष त्यसरी रोएको पहिलोपटक देखे,’ बिहीबार पूर्व दिनेशकर्मी शिवराज अवस्थी सुनाउदै थिए।
शव यात्रामा मोहना आर्यघाट पुगेपछि युवा श्रजक तथा धनगढीका व्यवसायी डिल्लीराज ओझाले पनि त्यस्तै अनुभव सुनाए।‘तीन दशकको सम्झनामा यस्तो मृत्यु कसैको देखेको थिएन,’ ओझा भन्दै थिए, ‘मृत्युमा महिलाले डाको छोडेर रुँदा पुरुषले सम्हाल्ने गरेका थिए। यहाँ त पुरुष पनि डाको छोडेर रोइरहेका छन्।’ बिहीबार धनगढीका व्यवसायी खेमराज पाठकको महाप्रस्थानमा आँसु नझार्ने कोही थिएनन्।
व्यवसायीक साझेदार रघु अवस्थीले पनि ३६ वर्षको कलिलो उमेरमा पाठकले चटक्कै छोडेर गएको सत्य स्वीकार गर्न सकिरहेका छैनन्। ‘खेम मेरो व्यवसायीक साझेदार मात्रै थिएन,’ अवस्थी भन्छन्, ‘दुखसुखको साथी पनि थियो। उमेरले म दुई वर्ष जेठो भएकाले उसको पाखुरा समातेर स्कुल लगेको सम्झना जीवित छ। आँखै अगाडि भए पनि उसको मृत्यु स्वीकार गर्नै मुस्किल भइरहेको छ।’
पाठकको मृत्युलाई कसैले पनि स्वीकार गर्न नसक्नु र पुरुष नै डाको छोडेर रुनुका थुप्रै कारण छन्। ‘सरलताले नै उसैलाई सबैको प्यारो बनाएको थियो,’ व्यवसायीक साझेदारसमेत रहेका आफन्त अवस्थी भन्छन्, ‘उसंग राम्रा पक्ष मात्रै थिए। ३६ वर्षको संगतमा एउटा पनि नराम्रो गुण भेटाउन सकिएन।’
छिमेकी टंक ओझाले पनि पाठकको मृत्यु स्वीकार गर्न सकिरहेका छैनन्। सामाजिक सञ्जालमा ओझाले लेखेका छन्, ‘जति माया जीवित हुँदा थियो त्योभन्दा बढी पीडा छोडेर जाँदा भइरहेको छ। श्रीमतीभन्दा पनि बढी माया गर्थे। कसरी भुल्न सकिन्छ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित राजघाटका पाठकले धनगढीको श्रीराम ट्रेडर्समा १२ वर्ष काम गरेका थिए। दुई वर्ष अगाडि मात्रै आफन्त रघु अवस्थीसंग मिलेर श्रीराम ट्रेडर्स खरिद गर्दै पाठकले साझेदारमा व्यवसाय थालेका थिए। अघिल्लो बिहीबार बिसन्चो भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका उनलाई डाक्टरले नियोनियाको समस्या देखाएका थिए।
सोमबारदेखि भेन्टिलेटरमा उपचार थालिएकोमा बिहीबार उनले संसार छाडेका हुन्। उनका दुई छोरा, श्रीमती, आमा र भाई÷बुहारी छन्। केही महिना अगाडि मात्रै भाई दीपक वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए। उनी बिहीबार बिहान राजघाट पुगेका छन्।