धनगढीमा के गर्दैछ माओवादीको वाइसियल टिम ?
एमसीसीविरुद्ध आन्दोलन चर्काउने
धनगढीः मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता (एमसीसी) को विषयलाई लिएर मुलुकको सडकदेखि सदन तातेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसदबाट जसरी पनि अनुमोदन गराउने अन्तिम कसरतमा छन्। यसअघि नै नेपाली कांग्रेसको संसदीय दल र कार्यसम्पादन समितिले एमसीसी पारित हुनुपर्ने निर्णय गरिसकेको छ। दउवाले आफ्ना नेता तथा कार्यकर्तालाई एमसीसीको पक्षमा उभिन समेत निर्देशन दिइसकेका छन्।
एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा समेत भइरहेको छ। सत्ता साझेदार दल माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने अडानमा छन्। यता, नेपाली कांग्रेस भने यसलाई अगाडि बढाइ छाड्ने अडानमा छ। एमालेले भने अहिलेसम्म कुनै निश्चित धारणा सार्वजनिक गरेको छैन। कांग्रेस नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सरकारमा छन्। तर, कांग्रेसबाहेक एमसीसीको विषयमा एक मत छैनन्। माओवादी केन्द्रले एमसीसी टेबल भए सरकारमा नरहने निर्णय समेत गरिसकेको छ।
यता एकीकृत समाजवादी पार्टीले पनि संशोधन विना एमसीसी पारित गर्न नसकिने बताउँदै आएको छ। गठबन्धनमा रहेको जनमोर्चा एमसीसीको विपक्षमा छ भने जसपामा तीब्र विवाद देखिएको छ। एमसीसीकै कारण गठबन्धनमा फाटो ल्याउने आशंका गरिएका बेला माओवादी केन्द्र र एकीकृत समाजवादी निकटका भ्रातृ संगठन भने निरन्तर आन्दोलनमा छन्।
आज (बिहिबार) मात्रै माओवादी केन्द्रको युवा संगठन वाइसियलका नेता कार्यकर्ता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन्। राजधानी काठमाडौंमा एमसीसीको चर्को विरोध गर्दै आएका उनीहरु आज धनगढी पुगेका हुन्। वाइसिएलका केन्द्रीय इन्चार्ज तथा माओवादीका पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा), वाइसिएलका केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल), वाइसिएलकै संगठन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर गुरुङ र अन्तर्राष्ट्रिय विभाग प्रमुख निङ्मा नाम्दु शेर्पा लगायका नेताहरु धनगढी आएको अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला सदस्य मनोजपुन मगरले दिनेशखबरलाई बताए।
‘केन्द्रबाट कमरेडहरु धनगढी पुगेर छलफल थालिएको छ’, मगरले भने, ‘वाइसियलले आज दोस्रो विस्तारित बैठकमार्फत एमसीसी लगायतका विषयमा छलफल गर्ने र आन्दोलनका कार्यक्रमबारे पनि छलफल हुने भएको छ। हामी भोलि पनि धनगढी लगायत देशैभर आन्दोलनका कार्यक्रम र विरोध प्रदर्शन गर्दैछौ।’ यस्तै अहिले केहीबेरमै बैठक सुरु हुने बताउँदै वाइसियलले बैठकबाट संगठनको प्रदेश कमिटीलाइ पनि चलायमान बनाउने लगायतका विषयमा निर्णय गर्ने बताइएको छ। प्रदेशभरका जिल्ला नेतृत्वबारे पनि हेरफेर हुनसक्ने वाइसियलले जनाएको छ।
माओवादी केन्द्रका भ्रातृ संगठनले यसअघिदेखि नै एमसीसीको विरोधमा संसद भवन घेर्ने तथा आन्दोलनका कार्यक्रम गर्दै आएको छ।