कैलालीमा विद्यालय भवन निर्माण गर्दा अनियमितता, ४० लाखमा जग मात्रै
धनगढी: योजनैपिच्छे कमिसन असुल गर्दै आएको कैलालीको घोडाघोडीमा विद्यालय भवन निर्माणमा पनि बदमासी भएको छ। नगरपालिकाले विद्यालय भवनका योजना कार्यान्वयन गर्दा मिलेमतोमा बदमासी गरेको आरोप लागेको हो।
राष्ट्रिय माध्यमिक विद्यालय सुखडको पाँच कोठे भवन निर्माणका लागि नगरपालिकाले पटकपटक गरेर ४० लाख विनियोजन गरेको छ। तर विद्यालयको परीक्षा हलको जग निर्माणको काम पनि पूरा भएको छैन। विद्यालय भवनको जग निर्माणमा ४० लाख भ्रष्टाचार भएको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीराज भटराईले बताए। ‘राष्ट्रिय माविको भवनमा ४० लाख निकासा भएको छ। काम केही भएको छैन। जग मात्र बनाएको छ। एमाले कार्यकर्ताहरुले मिलाएर खाएका हुन्’ उनले भने।
घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विद्यालय भवन निर्माणका लागि १८ लाख विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा २२ लाख बजेट विनियोजन गरिएको छ। २०७५/०७६ मा १३ लाख ८९ हजार मात्र खर्च भएको दाबी नगरपालिकाको छ। तर १८ लाख खर्चको तथ्यांक नगरपालिकाले दिएको छैन। विद्यालय भवनको जग निर्माणको काम पनि मापदण्ड विपरीत रहेको राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका प्राचार्य कर्ण भण्डारीले बताए। ‘पाँच कोठाको भवनको जग निर्माण भएको छ। एल आकारको भवन निर्माण गर्ने भनिएको हो,’ उनले भने, ‘बजेटका बारेमा हामीलाई जानकारी छैन। हामीसँग स्टीमेट पनि छैन। प्राविधिकहरुले मापदण्डमा नभएको भनेका छन्।’
उपभोक्ता समितिमार्फत विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेको नगरपालिकाले पछिल्ला आर्थिक वर्षहरुमा भने बजेट विनियोजन गरेको छैन। पछिल्ला तीन आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन नभएको हो। नगरपालिकाले रकम विनियोजन गर्न छाडेपछि भवन निर्माणको काम अलपत्र छ। घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रबहादुर सिँहले विद्यालयको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरेको बताए। ‘हामीले अध्ययनका लागि इन्जिनियरलाई पठाएका छौं। १३ लाख ८९ लाख खर्च भएको पाएका छौ। २०७४/०७५ मा भएको खर्च पाएका छैनौ। त्यो हामी खोज्छौ’ उनले भने।
घोडाघोडी नगरपालिकामा एमालेका कार्यकर्ताले मात्र उपभोक्ता समितिको अध्यक्ष हुन पाउँछन्। एक उपभोक्ता समितिबाट नगरपालिका योजनाको रकमको ३० प्रतिशतसम्म कमिसन लिदै आएको छ।