सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिम थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९९८ जनाको एन्टिजेन र १०९ जनाको पीसीआर परीक्षण गर्दा आज ४५ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये ५ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ८७० जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ४२१ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ३६ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा एक संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दम र सुगर सम्बन्धी समस्या भएकी उनको अस्पतालको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।