दिल कुल्चेर हिँडेको तिमीलाई ह्याप्पी ‘भ्यालेन्टाइन्स् डे’
हाम्रो भेट एउटा विवाहमा भएको थियो। जहाँ उ बेहुलाको साथी भएर आएको थियो। हामी दुवै बिहेको अघिल्लो दिनदेखि नै बेहुलाको घरमा भएकाले त्यहीँ परिचय भएको थियो। बिहेको भोलिपल्ट बिहानै म घर हिँडिसकेकी थिएँ। उसँग बिहान भेट भएन र भेट हुनुपर्छ भन्ने लागेन पनि। साँच्चै भन्ने हो भने बिहेमा कति आउँछन् कति जान्छन्, जो बोल्यो उसँग बोल्दियो। याद गरी राखिन्न। बिहेको केही दिनपछि फेसबुकमा उसको फ्रेन्ड रिक्वेस्ट आयो। प्रोफाइल हेर्दा उही केटो। मैले पहिले नै परिचय भइसकेकाले उसको फ्रेन्ड रिक्वेस्ट सहजै एक्सेप्ट पनि गरे। नभन्दै मेसेज आयो ‘थ्याङ्क यू।’ मैले ‘वेलकम’ भनेर रिप्लाई गरिदिएँ। त्यसपछि दिनमा एकपल्ट भएनी हाम्रो कुराकानी हुन थाल्यो।
कुरा हुन थालेको एकहप्ता मात्रै भएको थियो। उसले प्रेम प्रस्ताव राखिहाल्यो। मैले ‘हाहा हावा’ भन्दै रिप्लाई गरे। मनमा लागिरहेको थियो ‘हावा केटाहरु, केटी देख्यो कि प्रपोज गरिहाल्छन्।’ उसले कुरा गर्न भने छाडेन। केही समयपछि पुनः उसले आफ्नो कुरा दोहोर्यायो। यस बीचमा हामीबीच कुराकानी भइराखेकाले उसको बोली व्यवहार राम्रै नै लागेको थियो मलाई पनि। मैले अब सोचेर जबाफ दिन्छु भने। उसले कति समय भनेर सोध्दा मैले १५ दिन भनिदिएँ। मलाई लागेको थियो भाउ खोजी भनेर आफैं पन्छिन्छ। तर त्यसो भएन।
‘जति समय लिने मन छ लिए हुन्छ। सकेसम्म जबाफ हुन्छमै आओस्। म त्यति नराम्रो छैन नी,’ उसले भन्यो। त्यसपछिका दिन बित्दै गए। मैले मागेको समय पनि सक्कियो। हामीबीच पहिला जस्तो कुरा पनि हुँदैनथ्यो। मलाई लागेको थियो अब ऊ आफै टाढीसकेको छ। अनि समय मागेको कुरा बिर्सियो पनि। मैले खासमा केही सोचेकी पनि थिइन। कारण थियो उसको र मेरो जात। हो, हाम्रो जात मिल्दैनथ्यो। तर १५औँ दिनमा उसको मेसेज आयो। ‘के सोच्यौ त ? मैले तिमीलाई सोच्न डिस्टर्ब नहोस् भनेर आजसम्म खासै मेसेज पनि गरेन। नाई त भन्दिनाै ? कि बिर्सियो होला लागेको थियो ?’ उसको मेसेजले अब मलाई साह्रै गाह्रो पारिसकेको थियो।
मैले अब यसबारे उसँग कुरा गर्नुपर्ने भइसकेको थियो। मैले उसलाई आफूहरुको कास्ट नमिल्ने हुँदा त्यो सबैबारे नसोचेको बताए। तर उसले ‘अहिले पनि जातभातको कुरामा अल्झिएर हुन्छ’ भन्दै मेरो कुरा टार्याे। खासमा उ मभन्दा माथिल्लो कास्टको थियो। म चाहन्न थिएँ कि आज बनेको सम्बन्ध दुई दिनमै टुटेर जाओस्। भोलि मनमुटाव पैदा हुन्छ, राम्रो लागेकै मान्छेदेखि घृणा लाग्नसक्छ। म उसँग सम्बन्ध बिग्रियोस् भन्ने चाहन्नथे। यति दिनसम्म कुरा हुँदा मैले उसलाई एउटा राम्रो मान्छेका रुपमा लिएकी थिएँ। म यही मिठो सम्बन्धलाई तितो बनाउन चाहन्न थिएँ। त्यसैले मैले धक नमानी भनिदिएँ ‘हाम्रो कास्ट मिल्दैन। भोलि गएर बिहे हुँदैन भन्ने थाहा हुँदाहुँदै मैले हुन्छ भन्न सक्दिन। भावनात्मक सम्बन्ध टुट्दा दुःख कति होला त्यसैले हामी त्यो बारेमा कुरै नगरौं।’ तर उसले मानेन। ‘मेरो घरबाट त कुनै अवरोध हुँदैन। हामी छुट्नुपर्ने कारण कास्ट बन्न सक्दैन। अब म नै मन नपरेको हो भने त के भन्नु र ?’
हामी यस्तै कुरामा केहीदिन अल्झियाैँ। र, म उसको प्रेम प्रस्ताव स्वीकार्न पुगे। करिब दुई वर्षको अवधिमा हामीबीच त्यो बिहेपछि एकपल्ट मात्रै भेट भएको थियो। हाम्रो कुरा अलि कमै हुन्थ्यो। जति हुन्थ्यो फेसबुक मेसेन्जरमौ। उसको ढिपी नगर्ने स्वभाव मलाई औधि मन परेको थियो। मलाई माया प्रेमका नाममा घुम्न जान, खान, बस्न कहिले मन परेन र उसले पनि ती कुराहरू बुझेको थियो। म त्यहीँ कास्टकै कारणले पनि उसँग नजिक हुन चाहन्नथे। मलाई सधैं लाग्थ्यो कि छुट्नु त पक्कै पर्छ होला। मलाई उसँग जबर्जस्ती भागेर बिहे गर्नु पनि थिएन। घरको एक्लो छोरो उसैले परिवारको इच्छा विपरीत गइदिए के होला ? कास्टलाई बढी नै महत्व दिने हाम्रो समाजबारे बुझेकी छु मैले।
म आफ्नो परिवारको चित्त दुखाएर सबैलाई चटक्कै छोडेर उसँग गइहाल्न पनि तयार थिइन। तर उसँग छुट्टिनुपर्छ कि भन्ने पीर पनि थियो। बेलाबेलामा म उसँग यी कुराहरू गरिरहन्थे। म उसलाई भनी राख्थे ‘कि तिम्रो परिवारले त पक्कै मान्दैन होला। तिमीले जति भने पनि मलाई अझै विश्वास लागेको छैन।’ उ जे पायो त्यही सोचेर आफ्नो र मेरो मुड खराब नगराउ भन्ने गर्थ्यो। यो दुई वर्षको कति समय त मैले उसँग कुरै नगरी बिताएँ। बिहे हुँदैन, यो सब व्यर्थ हो भन्ने लागेर मैले धेरै समय उसँग कुरै गरिन। तर फेरिफेरि कुरा भइहाल्थ्यो।
यसपटक पनि धेरैपछि हामीबीच राम्ररी कुरा भइरहेको थियो। अब मैले यत्ति त सोचिसकेकी थिए की यदि उसले साँच्चै नै माया गर्छ भने मैले पनि उसको मन दुखाउनु हुन्न। यसैबीच उसले मलाई आफ्ना केही भाइबहिनीसँग पनि चिनाएको थियो। अब मेरो उप्रतिको विश्वास बढ्दै गइरहेको थियो।
यस्तैमा भ्यालेन्टाइन्स् सप्ताह चलिरहेका बेला मैले उसँग मसँग बिहेका लागि कत्तिको सियोर छौ भनेर सोध्दा उसले अहिले केही पनि भन्न नसक्ने बतायो। म छाँगाबाट खसेजस्तै भए। त्यो मेसेज हेर्ने आँट पनि म मा रहेन। उसले समय दिए मिलाउन सक्छु भन्ने कुरा गर्याे। पहिले छुट्नै पर्दैन भन्ने मान्छे आज ‘मिलाउन सक्थे कि’ मा पुगिसकेको थियो र यो मेरा लागि उसँगको सम्बन्ध यहाँभन्दा अगाडि बढ्न सक्दैन भन्ने बलियो प्रमाण भइसकेको थियो। तैपनि मैले हुन्छ लेउ न समय, मलाई कुनै हतार छैन भने। तर उसले फेरि कुरा फेर्याे। उसको मेसेज आयो, ‘मैले यसबारे घरमा सबैसँग सल्लाह गर्नुपर्ने हुन्छ। मैले मात्र भनेर केही हुँदैन। दुःख नमान्नु।’ यसपछि अब मलाई केही भन्न सुन्न बाँकी नै लागेन। तर उ चाहन्थ्यो की हामी साथी बनेर सधैँ कुरा गरिरहौं। मलाई उसँग अब कुनै कुरा गर्नु थिएन।
उसले परिवर्तन गरेको उसको स्वभावले भित्रभित्रै पोलिरहेको थियो मलाई। म अचम्ममा थिए कि कोही मान्छे यति धेरै परिवर्तन कसरी हुनसक्छ ? मलाई उसँग कुनै गुनासो हुन्थेन होला सायद। तर जब मैले हाम्रो बिहे नै हुन नसक्ने कुरा गरेकी थिए। उसले त्यतिबेला किन जिद्दी गरेको होला ? छुट्ने सम्बन्धका लागि आफ्ना भाइबहिनीसँग उसले किन परिचय गराएको होला ? मैले पछि गएर छुट्नुपरे पीडा होला त भनेकी नै थिए नि। उतिबेला ‘छुट्टिनु नै पर्नेभए किन भन्थे’ भनेर कसरी भन्न सकेको होला ? कति नाटक गर्न सक्यो उसले ? मैले भने उ अनि देख्दै नदेखेको उसको परिवारको चित्त दुख्ला भन्नेसम्म सोचे।
यति कुरा उसले पहिले नै बुझिदिएको भए आज हाम्रो परिस्थिति बेग्लै हुन्थ्यो होला। उसले बिहेका लागि नाई भनेर मेरो चित्त दुखेन। मैले पहिले नै बुझिसकेको कुरालाई उसले उतिबेला किन बुझ्न चाहेन ? किन एकोहोरो ढिपी गरिरह्यो ? अनि आज आएर कति सहजै आफू एक्लैले केही गर्न÷भन्न नसक्ने कुरा गर्यो। जबकि मैले त सुरुमै उसलाई आफ्नो घरमा आफूभन्दा सानो कास्टको केटी मन पराउने कुरा गर्नसक्छौ भन्दा उसले ‘मज्जाले’ भन्दै कति विश्वासका साथ भनेको थियो। अहिले त्यो विश्वास खै त ?
मलाई छुटनुपर्ने कुरा गर्नै नदिने उसले आज कति सहजै एक्लै निर्णय गर्नसक्यो। र, अब म जब कुरै गर्न चाहन्न उसको एउटै ढिपी छ ‘मैले भने अनुसार तिमीले बुझिनौ। मैले हामी छुट्नुपर्छ त भनेको नै छैन। तिमी आफैले के–के सोच्यौ। तिम्रा लागि यो सब सहज होला मेरा लागि पनि हुन सके हुन्थ्यो भन्ने हो।’ अब मैले बुझ्नै नसकेको कुरा अझै मेरो के चाहिँ गल्ती छ ? उसले मलाई बुझ्न नसकेको की मैले उसलाई ? या फेरि उसलाई आफूले के भने भन्ने याद नै छैन ?
यो सबैमा पनि उसले मलाई नै गलत देखिरहेको छ। मैले चित्त दुखाउने मौका दिए र उसले दुखाउन पायो। खासमा भन्ने हो भने गल्ती मेरै नै हो। सँगै हुने माया लाउने तिम्रै निर्णय थियो मैले साथ दिएकै थिएँ। आज छुट्टिने निर्णय पनि तिमीले नै गर्याै र आज पनि साथ दिएकै छु। कुनै प्रतिवाद वा गुनासो गरेकी छैन मैले। अझै पनि म मेरा कारणले उसको चित्त दुःखोस् भन्ने चाहन्न। त्यसैले पनि उसको फोनको जबाफ दिने गरेकी छु मैले। तर कुरा भइरहँदा कता कता फेरि सबै कुरा ठीक हुन्छ कि झैँ पनि लाउँछ र यही कुराले अझ धेरै तनाव गराउँछ। सबै कुरा सकिसकेको उसले कुरा गर्न किन छोड्न नसकेको होला ? आखिर कुन कुरामा अल्झिएको छ उसको मन ?
रुँदै यसरी आफ्ना कुरा सुनाइरहेकी मेरी साथीका कुरा सुनेर म अचम्मित भएकी थिए। किन मनाइन्छ भ्यालेन्टाइन्स् डे ? के–का लागि यो सब ? के साँच्चै नै माया भन्ने कुरा छ र ? या फेरि हामी आफैले यो शब्दलाई यति सस्तो बनाइसकेका छौ कि सायद यो महत्वहिन अनि अर्थहिन भइसकेको छ। मेरी साथीको त यही कहीँ नभएको पर्व भ्यालेन्टाइन मै दिल टुटेको छ नि। माया गर्ने जोडीले खुसी साट्ने, दुई मुटु जोडिने भनिएकै भ्यालेन्टाइन्समा मेरी साथीको किन दिल टुट्यो ? उसका लागि त पीडा बोकेको दिन बन्यो आजको दिन।
अस्ति मात्रै धेरैपछि भेट भएको हो हाम्रो। मैले कति रमाइला कुरा होलान् भन्ने सोचेकी थिएँ। तर जब उसले रुँदै यी सब कुरा सुनाइरहेकी थिई साह्रै चित्त दुखेर आयो मेरो। आज तपाईंहरूसँग पनि शेयर गरे। मेरी साथीको दिल कुल्चेर हिँडेको तिम्रो जीवनमा पक्कै कोही त आएकै होली। नभए कसैको आस छ होला। मेरी साथीको जीवनमा तिमीले मायाको शोषण गरेको भएपनि तिमीलाई भने ह्याप्पी भ्यालेन्टाइन्स् डे !