धनगढीमा भक्तबहादुरको रहस्यमय मृत्यु, न्यायका लागि ३ वर्षदेखि भौतारिएको छ परिवार
धनगढीः उनले धनगढी उपमहानगरपालिका–३ भन्सार रोडमा एउटा कोठा भाडामा लिएका थिए। त्यहि कोठामा अर्की श्रीमती राखेका थिए। तर उनी कहिलेकाँही मात्रै कोठामा आउने गरेका थिए। डोटीको बोगटान फुड्शील गाउँपालिका–३ घर भएका भक्तबहादुर बोहराको गाउँमा अर्कै परिवार थियो। उनको गाउँमा आमा, श्रीमती, छोराहरु र भाइहरु बस्थे। धनगढीमै बसेर पनि उनको कामबारे दोस्रो श्रीमतीलाई जानकारी थिएन। तर उनी कामको सिलसिलामा भारत आवतजावत गरिरहथे कान्छी श्रीमती कुमसरा साउदले बताइन्।
उता गाउँमा रहेका परिवारले उनलाई बेलाबेला बोलाइरहन्थे। तर भक्तबहादुरले भोलि पर्सी भन्दै उनीहरुको कुरालाई टार्थे। छोरा रामबहादुरले समेत घर आउन फोन गर्दा उनले त्यो आग्रह मानेका थिएनन्, मानौं की उनले सबैलाई भुलाइसकेका थिए। उनले धनगढीमा बेग्लै संसार बसाइसकेका थिए। उनले जहिले काठमाडौंबाट साथीहरु आउने र अनि मात्रै घर आउने बताउने गरेका थिए।
यसरी नै समय बित्दै जाँदा भक्तबहादुरको जीवनमा नसोचेको घटना भयो। २०७६ पुस १० बिहान पनि परिवारका सदस्यहरुले उनलाई फोन गरेका थिए। सदाझै उनले पनि यताबाट काठमाडौंबाट साथीहरु आएकाले भेटपछि मात्रै घर आउने आश्वासन दिएका थिए। त्यो दिन उनले साथीहरुका लागि धनगढीको एक होटमा कोठाको व्यवस्था गरे। दिउँसो एकपटक साथीहरुलाई भेट्न होटल गएका उनी आफ्नो कोठामा खाना खान फर्किएका थिए। ‘खाना खाइसकेपछि फेरि उनी दिउँसो साथीहरुलाई भेट्न एलएन चोक गएका थिए’ कुमसराले भनिन्।
साँझ ५ बजे पोखरामा रहेका उनका छोराले फोन गर्दा फोन उठेको थिएन। तर एकजनाले फोन उठाएर भनेका थिए, ‘भक्तबहादुरलाई रक्सी बढी भएको छ। कोठामा सुतिरहनुभएको छ।’ तर साँझ ६ बजे उनी धनगढीको पुराना सब्जीमण्डी चोकमा बेहोस अवस्थामा भेटिए। साथीहरुले कारमा ल्याएर त्यहाँ राखेको कान्छी श्रीमती कुमसरा साउदले बताइन्। उनीहरुले कान्छी श्रीमतीलाई बोलाएर घर लैजान आग्रह गरेका थिए। त्यसपछि श्रीमतीले भक्तबहादुरलाई अटो रिक्सामा राखेर घर लगेकी थिइन्। कोठामा पुगेपछि उनी बेहोस भए। त्यसपछि घरबेटीले उनलाई माया मेट्रो अस्पताल लगेका थिए। तर अस्पतालमा चिकित्सकले उनको उपचार गर्न मानेनन्। अवस्था जटिल र प्रहरीले हेर्ने मुद्दा भएको भन्दै चिकित्सकले आनकानी गरेका थिए। राति उनको त्यहि मृत्यु भयो।
त्यहि राति ९ बजे भक्तबहादुरका साथीको फोन आयो। उनकी श्रीमतीले भक्तबहादुरको मृत्यु भएको जानकारी दिएपछि साथीहरुको फोन अफ भयो। परिवारले पटक–पटक सम्पर्क गर्दा समेत उनीहरुमध्ये कोही सम्पर्कमा आएनन्। खोज तलास गर्दा जीवन खनाल, मनोज कुँवर लगायतका साथीहरु धनगढी आएको भक्तबहादुरका भाइलाई जानकारी भयो। उनीहरु २० वर्षदेखि भक्तबहादुरको सम्पर्कमा थिए। सोहीकारण उनीहरुमार्फत अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा भक्तबहादुरका भाई गणेशबहादुरले ती तिनैजना विरुद्ध किटानी जाहेर दर्ता गर्ने योजना बनाए।
कान्छी श्रीमतीको भनाइका आधारमा भक्तबहादुरको परिवार जिल्ला प्रहरी कार्यालय कैलाली गयो। जिल्ला प्रहरीका प्रहरी अधिकारीले आफूहरुलाई उल्टै हप्काएको भक्तबहादुरका भाई गणेशले बताए। ‘सुरुमा त प्रहरीले भक्तबहादुरको शरीरमा चोट नभएको भन्दै जाहेरी नै लिन मानेन। मृत्युको कारण चाहिएको भनेपछि जाहेर लिन तयार भए। तर जाहेरीको शैली नमिलेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिन झुल्लायो’ भाई गणेश बोहरा भन्छन्। उनीहरुलाई जिल्ला प्रहरीले जाहेरी दर्ताका लागि गोलचक्कर घुमाएको गणेशको गुनासो छ। ‘अन्तिम संस्कारपछि ३ महिनासम्म प्रहरीबाट कुनै जानकारी आएन। त्यसपछि हामी पटक–पटक जिल्ला प्रहरी कार्यालय कैलाली आउजाउ गरिरहे’ मृतकका भाई गणेश भन्छन्, ‘हामीले आन्दोलनका चेतावनी दिएपछि मात्रै प्रमुख जिल्ला अधिकारीले हामीलाई भेटेका थिए।’
उक्त बैठकमा तत्कालित कैलालीका निमित्त प्रहरी प्रमुख रहेका दक्षकुमार बस्नेत उपस्थित थिए। बैठकबाटै डिएसपी बस्नेतले काठमाडौंमा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षकलाई फोन लगाएका थिए। एसपीसँगको सम्पर्कपछि आरोपित जीवन खनाल जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएका थिए। उनी धनगढी विमानस्थलबाट चैत ९ गते उनी धनगढी आएका थिए। जिल्ला प्रहरीमा हाजिर भएका खनालले परिवारलाई ७ लाख दिने प्रतिवद्धता जनाएको गणेश बोहराले बताए। तर भक्तबहादुरका भाइहरुले उक्त रकम लिएनन्। उनीहरुले जेठो दाइको हत्या गरिएको र त्यसमा लेनदेन नहुने अडान राखेका थिए।
चैत ११ गते कोरोना भाइरसको महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी भएकाले प्रहरीले आरोपितलाई थुनामा राखेन। प्रहरीले आरोपित जीवन खनाल, मनोज कुँवर लगायतको फोटो समेत डिलिट गर्न लगाएको आरोप गणेशको छ।अहिले भक्तबहादुर बोहराको मृत्यु भएको ३ वर्ष भइसकेको छ। उनका भाइ डोटीको बोगटान फुटशीलबाट न्यायका लागि धनगढी आउने गरेका छन्। पटक–पटक उनीहरु जिल्ला प्रहरी कार्यालय कैलाली आएपनि आरोपित पक्राउ परेका छैनन्। अहिले प्रहरीले तस्बिर, नागरिकता, स्थायी ठेगाना माग्दै छ।
प्रहरी नै आरोपितसँग मिलेको आरोप आफन्तको छ। प्रहरीले भक्तबहादुरको पोष्टमार्टम रिपोर्टमा कुनै प्रमाण नभएकाले विष खुवाएको भन नमिल्ने आफन्तलाई भनिरहेको छ। तीन वर्षसम्म पनि दाईको मृत्युको रहस्य नखुलको भन्दै बोहराका भाइ गणेश धनगढीमा भौतारी रहेका छन्। उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने जीवनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताएका छन्।