सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानीको निकास रोकेर धमाधम संरचना बन्न थाले, डुबान झनै बढ्ने चिन्ता

बर्सातमा डुबेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३
बर्सातमा डुबेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३
२०७८ माघ २२, ११:२९ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले नहर र कुलोलाई बाटो प्रमाणित गर्न थालेपछि डुबानको समस्या झनै बढ्ने चिन्ता व्यक्त गरिएको छ। उपमहानगरपालिका वडा नम्बर ३ मा रहेका सबै राजकुलो र नहर उपमहानगरपालिकाकै मिलेमतोमा सडकमा परिणत गरिएपछि डुबानको समस्या झनै बढ्ने चिन्ता गरिएको हो।

धनगढी उपमहानगरपालिकामा रहेका धेरैजसो खोलानाला नहर तथा राजकुलो मिचेर धनगढी नगर विकास समितिले जग्गाधनी लालपुर्जा वितरण गरेको थियो। राजकुलो र नहर नाप्ने काम नभएको ठाउँमा प्लटिङ गर्दा जग्गा व्यापारीले नहर र कुलोलाई सडक देखाउने गरेको स्थानीय वीरेन्द्र भट्टले बताए। ‘उपमहानगरपालिकाका अमिन तथा प्राविधिकहरूको मिलेमतोमा नहर र कुलोलाई बाटो प्रमाणित गर्ने काम गरिँदा पानी निकास थुनिएर डुबान बढ्दो क्रममा छ’, उनले भने, ‘डुबान हुन नदिन पानीको निकास खाली गर्नुपर्नेमा यहाँ झन थुन्ने कामको मतियार उपमहानगर नै भएको छ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को विशालनगरमा नेतुवा ताल छ। नेतुवा ताल हिउँदमा सुख्खा हुने गरेपनि त्यहाँ बर्सातको पानी भने जम्मा हुने गरेको छ। तर ताल भरिएपछि पानी बग्ने नाला र नहर भने अतिक्रमण गरिएका छन्। अहिले नेतुवा तालमा पानी बगेर आउने भए पनि निकासका लागि केही दशक अगाडिसम्म अस्तित्वमा रहेका नाला र नहरमा सडक, घर तथा बारी बनाउने काम भएको स्थानीयले बताएका छन्। ‘नेतुवा तालबाट गणेश मन्दीर–प्रहरी गुल्म हुँदै नेश्नल ट्रेडिङसम्म जाने कुलो अहिले अस्तित्वमा छैन’, डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापाले भने। 

विशालनगरबाट ट्राफिक चौराहा निस्कने नालामा पनि घर निर्माण गरिएका छन्। चटकपुरको पाठक हार्डवेयरबाट विशालनगरको पानी वडा नम्बर ४ हुँदै बग्ने भएपनि त्यो नालामा पनि घरहरु निर्माण गरिएका छन्। विशालनगरको पानी गुरुद्वारा निजकैबाट वडा नम्बर ४ तर्फ बग्ने नालामा सडक निर्माण गरिएको छ। विशालनगरको जनता स्कुल भएर बनाइएको नहर पूरै अतिक्रमण गरिएको छ। यस्तै चटकपुरमा नहरमा ग्रावेल गरेर प्लटिङ गरिएको जग्गामा धमाधम घर निर्माण भइरहेका छन्। डुबानको समस्या हल गर्न अतिक्रमण हटाउने उद्घोष गरेको उपमहानगरपालिकाले नहर र कुलोलाई बाटो प्रमाणित गर्ने कार्य गरेर डुबानको समस्या बढाएको स्थानीय बाबुराजा श्रेष्ठको आरोप छ। ‘उपमहानगरको डुबान समस्या समाधान गर्ने बताउने गरिएपनि जनप्रतिनिधि, अमिन र प्राविधिकको मिलेमतोमा नहर र नाला अतिक्रमण गरिएको छ’, उनले भने, ‘डुबान हटाउने पनि भन्ने पानी बग्ने कुला र नहर पनि मास्न उपमहानगर नै लागेको देख्दा अचम्म लागेको छ।’

वडा नम्बर ३ धनगढीको सबैभन्दा बढी डुबान प्रभावित क्षेत्र रहेको वडावासीले बताउने गरेका छन्। वडामा रहेको सबै पानी बग्ने नहर र कुलोलाइ खेत र घर बनाएर मास्ने काम भएपछि बस्तीमा आउने पानीको निकास थुनिएको छ। ६ लेन सडकमा पानी बग्ने कल्भर्ट निर्माण गरिएको भए पनि कल्भर्टसम्म आउने पानी बग्ने बाटो थुन्ने काम भएको छ। कित्ताकाट गर्दा वडाकै सिफारिसमा बाटो प्रमाणित हुने गरेको नापी कार्यालय कैलालीका प्रमुख सुदर्शन धामी बताए। ‘हामीले स्थानीय तहकै सिफारिसमा कित्ता काट गर्ने गरेका छौँ।’ उनले भने, ‘बाटो प्रमाणित गर्ने काम वडाले गरेपछि कित्ता काट हुने गरेको छ।’

वडाको केदार टोलदेखि मिलनचोकसम्म पानीको निकासका लागि प्राकृतिक रुपमा बस्ती विकास हुनुपूर्व रहेका नाला, नहर तथा कुलो अहिले आएर उपमहानगरले नै बाटो भनेर प्रमाणित गर्ने गरेको छ। अमिन तथा प्राविधिक कर्मचारीबाट उपमहानगरपालिकाले लिएको नीति विपरीत बाटो प्रमाणित गर्ने काम हुने गरेको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर बताउँछन्। ‘बाटो छ छैन भनेर फिल्डमा गएर हेर्ने काम वडा अध्यक्ष र सचिवले त गर्दैन्।’ उनी भन्छन्, ‘अमिन तथा प्राविधिकले बाटो छ भनेर सिफारिस गरेपछि हामीले दस्तखत त गर्नै पर्‍याे।’

वडा नम्बर ३ बाट ६ लेन सडकतर्फ हुने पानीको निकास अतिक्रमण गरिएकोले पूर्णतया बन्द भएको छ। यसैगरी रिङरोड र भित्री सडक बनाउँदा कल्भर्ट नराखिँदा मोहनातर्फको पानीको निकास पनि बन्द भएको छ। जसकाकारण वडाका सबै टोल तथा बस्ती हरेक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस