धनगढीमा प्रशारण लाइनको क्षमता विस्तार हुँदै, भोल्टेजको समस्या हट्ने
धनगढी: २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिमका ९ जिल्लामा ५ लाख ८७ हजार ५४ घरधुरी रहेका छन्। तर ती सबै घरमा नेपाल विद्युत प्राधिकरणको बिजुली भने पुगेको छैन। प्रदेशभर ३ लाख २० हजार परिवारमा मात्रै बिजुली उपभोग भइरहेको प्राधिकरणले जनाएको छ। जसका लागि प्रदेशभर दैनिक ७५ मेगावाट बिजुली खपत भइरहेको छ।
तर विद्युतीकरण भएको बस्तीमा पनि विद्युत सेवा कमजोर रहेको गुनासो आइरहेको छ। प्रदेशकै एकमात्र उपमहानगरपालिका धनगढीको बजार क्षेत्रमै पनि भोल्टेजको समस्याले घरमा रहेका विद्युतीय उपकरण नचल्ने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ रामजानकी टोलका स्थानीय काशीराम विष्टले दिनेशखबरलाई बताए। ‘लो भोल्टेजको कारण होस् या अरु कारणले होस् हाम्रो टोलमा गर्मीमा पंखा चल्दैन। अहिले पनि मोटर लगायतका उपकरण नचल्ने समस्या छ’, उनले भने, ‘गुनासो गर्दा र निवेदन दिँदा पनि सुनुवाई भएको छैन।’
धनगढी उपमहानगरका भित्रकै दर्जनौ टोल तथा बस्तीका उपभोक्ताले पटक–पटक विद्युत जाने समस्यासँगै घरेलु विद्युतीय सामग्री नचल्ने समस्या रहेको गुनासो गरेका छन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने विद्युत लाइनको क्षमता वृद्धि गर्ने काम भइरहेकोले धनगढी वितरण केन्द्र अन्तर्गतका उपभोक्ताले अगामी दिनमा बत्ती जाने र लो भोल्टेजको समस्या भोग्नु नपर्ने दाबी गरेको छ।
धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल भन्छन्, ‘धनगढी वितरण केन्द्र अन्तर्गत सबै ठाउँमा लाइन अपग्रेड गर्ने काम भइरहेको छ। आउने गर्मीयाम भन्दा अगाडि नै फिडर तथा फेज थप्ने काम गर्दैछौँ।’ उनका अनुसार पुरानो तार र विभिन्न ठाउँमा ट्रान्सफर्मर थप्ने काम भइरहेको छ।
घरेलु प्रयोजनका जोडिएको लाइनमा २ सय १० भोल्टेज विद्युत प्रभाह हुनुपर्ने बताइएको छ। तर पुराना तार, ट्रान्सफर्मरको अभावले आवश्यकभन्दा कम विद्युत प्रवाह हुँदा समस्या देखिने प्राधिकरणले बताएको छ। विद्युत प्राधिकरणले लाइनको क्षमता बिस्तार गर्न २८ किलोमिटरमा मसिनो तारलाई मोटो तारले प्रतिस्थापन गर्ने, धनगढीको बजार क्षेत्रमा ४ किलोमिटरको ११ हजार केभी लाइन बिस्तार गर्ने, फेज तथा फिडर थप गर्ने कामसहित विभिन्न ७ ठाउँमा ट्रान्सफर्मर राख्ने काम भइरहेको बताएको छ। उक्त काम सकिएपछि बत्ती जाने र लो भोल्टेजको समस्या नहुने दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ।
चालू आर्थिक वर्षमा विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले लाइन बिस्तारमा मात्रै १ करोड ३५ लाखको लागतमा काम भइरहेको जनाएको छ। प्राधिकरणले धनगढीको कैलाली गाउँसँगै गोदावरीको अत्तरिया र गेटामा फिडर थप्ने, उत्तरबेहडी, खप्तडचोक, तारानगर, भानुचोक, बुद्धचोक, सन्तोषीटोल, ट्राफिकचोक, सरस्वतीनगर, हसनपुर क्षेत्रमा मसिनो तार हटाएर मोटो तार राख्ने काम भइरहेको जनाएको छ। यस्तै धनगढीको रैकाटोल, चौधरीटोल, पुरानो हसनपुर, तारानगरको सालघाडी, सरस्वतीनगर, विजुलीया र थारु छात्राबास क्षेत्रमा नयाँ ट्रान्सफर्मर राख्ने बताइएको छ।