सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरका सीमा नाकामा रोक, किनमेल गर्न चोरबाटो प्रयोग

अटेरी नागरिक

२०७८ माघ १०, ११:४२ विन्दु चन्द

धनगढी: आइतबार धनगढीकी मायादेवी सुनार दैनिक उपभोग्य सामग्री खरिद गर्न भारतीय सीमा बजार पुगिन्। उनीसँगै आधा दर्जन महिला किनमेलका लागि भारतको वनगाउँ पुगेका थिए। उनीहरु दैनिक उपभोग्य सामग्री किनमेल गर्न सीमा पारी गएका थिए। 

स्थानीय प्रशासनले किनमेलका लागि भारतीय बजार जान रोक लगाएको भएपनि चोरी नाका भएर आवतजावत गर्ने क्रम जारी छ। सीमामा रोक लगाएको भन्ने जानकारी पाएपछि आफुहरु चोर बाटो भएर वनगाउँ गएको मायादेवी सुनार बताउँछिन्। ‘प्रहरीले जान दिँदैन भन्ने थाहा पाएपछि हामी जंगलको बाटो हुँदै गएका हौँ’ उनले भनिन्। स्थानीय बजारमा महंगो मूल्यमा सामान पाइने भएकाले आफुहरुले वनगाउँबाट सामान ल्याउने गरेको उनले बताइन्।

बिहीवार मात्रै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न सीमा बजार जान रोक लगाउन सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार कैलाली प्रशासनले किनमेल गर्न भारतीय बजार जानेहरुलाई बन्देज लागाउने आदेश जारी गरेको थियो। त्यसपछि मुख्य नाका त्रिनगर–गौरीफन्टा भएर भारतीय बजार जाने क्रम लगभग रोकिएको छ। तर चोरी नाका भएर भने दैनिक सयौं नेपाली कैलाली पारीका बजार पुगिरहेका छन्।  ती मध्ये अधिकांश कैलालीको गोदावरी, सुखड र कञ्चनपुरका स्थानीय रहेका छन्। उनीहरु भान्साको तथा विवाहको सामान किन्न वनगाउँ जान्छन्। 

उक्त विषयमा सबैले सहयोग गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आग्रह गरेका छन्। स्थानीय प्रशासन र प्रहरीले मात्रै नभइ आम नागरिकसमाज सबैले चेतनशील हुनुपर्ने उनको भनाई छ। ‘आदेश जारी गरेका छौं। यसको उल्लघंन नगरी सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ’ उनले भने।   

कञ्चनपुरमा पनि स्थानीय प्रशासनले भारतीय बजारमा किनमेलका लागि जान रोक लगाएको छ। त्यहाँ पनि चोरी नाकाबाट निर्वाध रुपमा आवागमन भइरहेको छ। खुला सीमा नाकाका कारण सबै ठाउँमा पुग्न नसकिने हुँदा आदेश पालना गरिदिन  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको आग्रह छ। उनले भन्छन्, ‘अहिले भारतबाट नै संक्रमण फैलिरहेको छ। यसैमा अझ सामान्य रुपमा पनि आवतजावत गर्नाले समुदायस्तरमा संक्रमण फैलिन्छ। त्यसैले सबै नागरिकलाई अनावश्यक रुपमा आवतजावत नगर्न अनुरोध गर्दछौँ।’ 

भारतीय बजारमा किनमेलका लागि रोक लगाइए पनि रोजगारी र उपचारका लागि भने जान अनुमति दिइएको छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस