सुदूर नेपाललाई विश्वसँग जोड्दै

परदेशीलाई रोकेन महामारीले, भन्छन्, ‘परिवारको खुसी कमाउन जाँदैछौं’

२०७८ माघ ७, ०३:०९ विन्दु चन्द

धनगढी : कोही मातृभूमीको किनार भेट्टाउदा खुसी छन्। कसैलाई भारत पुग्न हतारो छ। स्वदेश फर्कनेहरु भारतमा कोरोना भाइरसले भयावह रुप लिएको बताउँछन्। भारत पस्नेहरु स्वदेशमा चुलो बाल्नै मुस्किल भएको पीडा सुनाउँछन्। जे होस्, आउजाउँ गर्नेहरुको घुइँचो भने बढ्दै गएको हुन्छ। यो दृश्य पश्चिमी नाका त्रिनगर–गौरीफन्टाको हो। जहाँ परिवारको खुसी कमाउन भारत पस्नेहरुका व्यथा प्रस्टै देखिन्छन्। 

‘घरमा बसेर साँझ–बिहानको छाक टार्नै मुस्किल हुन्छ,’ नाकामा भेटिएका कैलालीको गोदावरी नगरपालिकाका देव साउँदले भने, ‘त्यसैले महामारीको समयमा पनि भारत जान बाध्य भएका छौं।’ स्वदेशमा रोजगारीका अवसर सृजना गर्न तीन तहको सरकार असफल भएको गुनासो उनको छ। उनले थपे, ‘घरमा बस्ने मन सबैको हुन्छ। तर छाक टार्नका लागि भारत गइरहेका छौं।’

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण जति छ, त्यसको कयौं गुणा बढी जोखिम भारतमा छ। तर स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै कोरोना महामारीमै भारत जानेको संख्या बढीरहेको हो। आर्थिक अभावकै कारण पढाइ छाडेर युवाहरु पनि भारत पस्न बाध्य छन्। स्वदेशमा काम नपाएपछि पढाइ छोडेर भारत गइरहेको कैलालीका गणेश साउँदले बताए। उनले भने, ‘पढ्ने मन थियो। घरमा खान लगाउन समस्या भएपछि भारत गइरहेको छु।’ स्वदेशमा भनेको जस्तो काम नपाउदा भारत जान पर्ने बाध्यता रहेको उनी बताउँछन्। 

स्थानीय तहको निर्वाचानमा गाउँगाउँमा सिंहदरबार पुग्ने नारा लगाइएको थियो। जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनै लाग्दा पनि मजदुरी गर्नकै लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन। जनप्रतिनिधिले निकटका व्यक्तिलाई सरकारी जागिर दिए पनि योग्य तर पहुँच नभएका नागरिक भने भारत पस्न बाध्य छन्। 

घरघरमा सिंहदरबारको नारा लगाए पनि समय अवधि सकिनै लाग्दासम्म ठोस कदम चाल्न नसकेको अछामबाट भारत जानका लागि नाकामा पुगेका हरिश वडले बताए। १५ वर्षदेखि भारतमा रोजगार गर्दे आएको बताउँदै उनले भने, ‘पहिले त धेरै दुखका दिन पनि काटियो।  अहिले त झन परिवारको ख्ुसीका लागि महामारीमा पनि भारत जान परिरहेको छ।’

अहिले कोरोना महामारीले मजदुरी छाडेर जति नेपाली स्वदेश फर्किरहेका छन् सोही हाराहारीमा रोजगारीका लागि भारत पनि गइरहेका छन्। त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै दैनिक तीन सयभन्दा बढी प्रदेशवासी भारत गइरहेका छन्। दैनिक एउटै नाकाबाट ३ सय बढी नेपालीहरु रोजगारीका लागि भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए। उनले भने, ‘आउनेको संख्या जत्तिकै रोजगारीका लागि भारत जानेहरुको संख्या पनि छ।।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस