बझाङको सुनकुडा क्याम्पसमा लफडा, लेटरप्याड र छाप चोरेर प्रमुख नियुक्त
धनगढीः बझाङको सुनकुडा क्याम्पसमा केही दिनयता विवाद चर्किएको छ। क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख लगायतका कर्मचारीबीच विवाद चर्किएको हो। क्याम्पसमा नयाँ प्रमुख नियुक्ति गरिएपछि विवाद उत्पन्न भएको हो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेशबहादुर अधिकारीले मनोमानी र एकलौटी ढगंले क्याम्पस प्रमुख नियुक्त गरेको आरोप लागेको छ। यस अघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त गरेका थिए। ढाँटलाई नियुक्त गरेपछि विवाद झन चर्किएको हो।
विष्टले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटपूर्ण तरिकाले नियुक्त गरेको आरोप लगाएका छन्। ‘अध्यक्ष अधिकारीको प्रस्ताव स्वीकार नगरेका कारण कारण अधिकारीले यस्तो हतकण्डा अपनाए’, उनले दिनेशखबरसँग भने, ‘असोज २१ गते अध्यक्ष रमेश अधिकारीले मलाई २ जना आफु निकटका मान्छेलाइ कर्मचारी भर्ना गर्न प्रस्ताव राखेका थिए। तर, मैले त्यो अस्वीकार गरे। मैले अस्वीकार गरेपछि अध्यक्षले स्वार्थ पुरा गर्न छलकपटपूर्ण तरिकाले मलाइ हटाएर नयाँ प्रमुख नियुक्त गरे।’ खास विवादको मुल कारण यही नै रहेको उनी बताउँछन्। गत पुष २५ गते सो क्याम्पसमा क्याम्पस सञ्चालक समितिको बोलाइएको बैठक स्थगित भएको थियो। बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको उनले बताएका छन्।
तर, रातिको समयमा अध्यक्ष अधिकारीले क्याम्पसको छाप र लेटरप्याड चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको बिष्टले आरोप लगाएका छन्। क्याम्पसका उपप्राध्यापक समेत रहेका ढाँटको ओरिजिनल सर्टिफिकेट नभएको र फोटोकपीले नै काम चलाइरहेको भन्दै बिष्टले छानबिनको माग समेत राखेका छन्। गत असोज ६ गते उक्त क्याम्पस सञ्चालक समिति अध्यक्षको समय अवधि सकिएको भन्दै त्रिभुवन विश्व विद्यालयबाट पत्र आएको थियो। पत्र आइसक्दा पनि नयाँ समिति गठन नगरिएको बिष्टले बताए। उनले अवैधानिक ढंगबाट अधिकारीले अध्यक्षको कार्यभार सम्हाल्दै आएको बताए।
तर, यता क्याम्पस सञ्चालक समितिले भने विधान अनुरुप क्याम्पस प्रमुख परिवर्तन गरिएको जनाएको छ। अधिकारी माओवादीका नेता हुन्। उनी यसअघि सुनकुडा माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अध्यक्ष रहदा पनि विवादीत बनेका थिए।
क्याम्पस सञ्चालक समितिले जारी गरेको सूचना