सुदूरपश्चिममा आइसियू र भेन्टिलेटर सञ्चालन गर्न जनशक्ति अभाव
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषदको बैठकबाट जिल्ला तथा प्रादेशिक अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिदको निर्णय गर्यो। २०७६ चैत २७ गतेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसका जटिल संक्रमितका लागि आवश्यक आईसीयूसहितको भेन्टिलेटर खरिदको निर्णय गरेको थियो।
तर प्रदेश सरकारले खरिद गरेर हस्तान्तरण गरिएका आईसीयू र भेन्टिलेटर भने अझै प्रयोगमा आएका छैनन्। आवश्यक जनशक्तिको व्यवस्थापन नहुँदा आईसीयूसहित भेन्टिलेटर प्रयोगमा नआएका हुन्। जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर मिलन खड्काले भने आईसीयू सञ्चालनमा आएको बताए।
उनले भने, ‘जनशक्ति छैनन् तर डाक्टरहरुले चलाउँदै आउनु भएको छ। अहिले आईसीयूमा राख्नुपर्ने बिरामी आएका छैनन।’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालमा एक/दुई आईसीयू बाहेक सबै सञ्चालनमा रहेको बताए। उनले भने, ‘सेतीका सबै आईसीयू सञ्चालनमा छन्। एक/दुई मर्मतको चरणमा होलान्। सेतीमा जनशक्ति पनि छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमा समस्या हुँदैन होला।’
प्रदेश सरकारले ७ पहाडी जिल्लाका अस्पतालसहित सेती, टीकापुर र महाकाली प्रादेशिक अस्पताललाई २/२ थान भेन्टिलेटर हस्तान्तरण गरेको थियो। भौतिक पूर्वाधारको व्यवस्थापनमा भएको ढिलाईले लामो समय सञ्चालनमा आउन नसकेका उपकरण हाल जनशक्ति अभावका कारण प्रयोगविहिन अवस्थामा छन्।
पहाडी जिल्लामा उपकरण मात्रै पठाएको प्रदेश सरकारले जनशक्ति भने सम्बन्धित अस्पतालले नै व्यवस्थापन गर्नुपर्ने बताएपछि झनै समस्या भएको हो। उपकरण मात्र अस्पतालमा पुगेको तर जनशक्ति व्यवस्थापनमा वेवास्ता गरिएको अस्पतालहरुको गुनासो छ।
यता प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले आईसीयू सञ्चालनका लागि जनशक्तिको अभाव भएकाले डाक्टरहरुलाई तालिम दिएको बताए। ‘हामीले जनशक्तिको दरबन्दी दिन सक्ने भएनौ। अस्पतालको जनशक्ति नै प्रयोग गरेका छाै। तालिम पाएकाहरुले आईसीयू सञ्चालन गर्छन्।’