सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीवासीले सुख पाउने कहिले, सडक हिलाम्य जहिले(फोटोसहित)

२०७८ माघ ३, १०:५५ विन्दु चन्द

धनगढीः धनगढीका विभिन्न ठाउँमा खानेपानीका पाइप फुट्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ। खानेपानीका पाइप फुटेर सडक हिलाम्य बनेका छन् भने धेरैजसो ठाउँमा पानी जमेर सडक जलमग्न भएका छन्। उपमहानगरपालिकाको वडा नम्बर ५ जाँई, वडा नम्बर ४ उत्तरवेहडी, वडा नम्बर ३ विशालनगर लगायतका क्षेत्रमा हिलाम्य भएको सडकमा आवतजावत गर्नै मुस्किल छ। 

साँघुरा सडकहरुमा पानी जम्दा सवारी साधन चलाउनै मुस्किल भइरहेको धनगढीका एक जना सवारी चालक पुरन विकले बताए। उनले भने, ‘जताततै पानीका पाइपहरु फुटेका छन्। साँघुरा सडकहरुमा विपरित दिशावाट आउने सवारी साधनले समस्या हुन्छ। बाटो छोड्ने ठाउँ नै हुँदैन।’ पानीमाथि ग्रावेल गर्दा झनै समस्या भइरहेको उनले सुनाए।  खानेपानीका पाइप फुटेकै कारण माघमा पनि धनगढीको मुख्य सडक जोड्ने अधिकांश शाखा सडक हिलाम्य भएका छन्। यस्तै संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माणाधीन सडक पनि पाइप फुटेर हिलाम्य भएका छन्। 

जताततै पाइप फुटेका कारण संरचनाहरुलाई समेत असर गरिरहेको धनगढीका स्थानीय प्रकाश भट्टले बताए। ‘पाइप फुटेका कारण पिच सडकहरु समेत गाडी चल्ने बितिक्कै फुटिरहेका छन्। एकातिर आवागमनमा सास्ती भइरहेको छ भने अर्को तर्फ बनाइएको भौतिक संरचनाहरु समेते बिग्रिने गरेका छन्’ उनले भने।  विगतमा धनगढीका सडक बर्सातमा हिलाम्य र हिउँदमा धुलाम्य हुने समस्याले राजधानीवासी आजित थिए। तर यसवर्ष भने हिउँदमा पनि सडक हिलाम्य भएपछि आवतजावतमा सास्ती बढेको छ। बीच सडकमा जमेको पानी तथा खाल्डाखुल्डीमा पानी भरिँदा दुर्घटनाको जोखिम रहेको धनगढीका अर्का स्थानीय प्रेमराज भट्टले बताए। उनले भने, ‘सम्बन्धित निकायले कुनै वास्ता नै गर्दैन। पटकपटक जानकारी गराउँदा पनि समयमै न आइदिने गरेको छ। फुटेका ठाउँमा जमेको दूषित पानी घर घरमा जान्छ के गर्ने त्यस्तै पानी पिउनुपर्छ।’

चुहिएको पानी पाइपमा भरिएर धारामा पुग्न थालेपछि दूषित पानी पिउन बाध्य भएको गुनासो गरिएको छ। तर पाइपलाइन फुटेको महिनौंसम्म पनि मर्मतमा भने कसैले चासो दिएको छैन। सडक निर्माण गर्ने क्रममा टुटेफुटेका पाइप निर्माण व्यवसायीले नै गर्नुपर्ने खानेपानी संस्थान धनगढीको भनाइ छ।  यस्तै जानकारीमा आएका सबै ठाउँमा पाइप मर्मतका लागि प्राविधिक खटाइरहेको खानेपानी संस्थानका निमित्त प्रमुख पंकजकुमार दासले बताए। उनले भने, ‘जसले सडक भत्काउन डोजर प्रयोग गरेको हो उसैले फुटेको पाइप मर्मत गर्नुपर्छ। हामीलाई जानकारी आएका सबै पाइपहरु मर्मत गरिरहेका छौँ र अवलोकनका लागि प्राविधकहरु खटाइ रहेका छौँ।’

धनगढीमा पाइप लाइन स्थानान्तरण नगरी सडक निर्माण गर्ने क्रम रोकिएको छैन। जसका कारण सडक निर्माणका क्रममा पाइप फुट्ने र महिनौंसम्म मर्मत नहुने समस्या बढीरहेको छ।

 

 

 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस