धनगढीमा ६ लेन सडकका कल्भर्ट बन्द, डुबानको समस्या विकराल बन्ने चिन्ता
धनगढी : गत साउन ५ गते धनगढीको ६ लेन सडकमा कल्भर्ट थुनेर विशालनगर डुबानमा परेको भन्दै प्रशासनले पानीको निकास गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भयो। झडपमा स्थानीयलाई तितरबितर गर्न प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो। धनगढीको नेश्नल ट्रेडिङ अगाडि रहेको कल्भर्ट थुनिदा वडा नम्बर ३ का ४ सय १६ घरधुरी डुबानमा पर्दै अएको वडावासीले बताएका छन्।
६ लेन सडकमा रहेका सबैजसो कल्भर्ट प्रयोगविहीन छन्। पानीको निकास हुने नेश्नल ट्रेडिङ अगाडिको कल्भर्टको दक्षिणतर्फको जग्गामा पर्खाल निर्माण भएसँगै त्यो ठाउँबाट हुने पानी निकास पनि थुनिने भएको छ। यसरी पानीको निकासका लागि बनाइएका कल्भर्ट बन्द भएसँगै विशालनगरवासी थप चिन्तित भएको वडा नम्बर ३ डुबान संघर्ष समितिका संयोजक जयबहादुर थापाले बताए। `धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा पानीको निकासका लागि बनाइएका अधिकांश कल्भर्ट बन्द भएका छन्,´ उनले भने, `विगतमा विशालनगरका ४ सय १६ घर डुबानमा पर्ने गरेका थिए। ६ लेन सडकसँग जोडिएका नाला अतिक्रमणको चपेटामा परेपछि थप डुबानको जोखिम बढेको छ।´
मोहनापुल-अत्तरिया ६ लेन सडकमा पानी बग्न कल्भर्ट बनाइएको भए पनि कल्भर्टसँग जोडिएका नालाको जग्गा धनगढी नगर विकास समितले २०४८ देखि विभिन्न मितिमा व्यक्तिको नाममा दर्ता गरेको कारण ती कल्भर्ट कुवामा परिणत भएको मिलन चोकका स्थानीय सुनिल भण्डारीले बताए। ६ लेन सडकमा सडक विभागले निर्माण गरेका कल्भर्टसँग जोडिएको नाला तथा कुलो नहुँदा कल्भर्ट पानी जम्ने धरापमा परिणत भएको विशालनगरका अर्का स्थानीय मोहन जोशीले बताए।`बर्सातमा बस्ती डुब्ने खतरा रहेको भन्दै हामी निकै चिन्तित भएका छौँ´ उनले भने, `डुबानको समस्या हुन नदिन बर्सात अगाबै निकास निकालिनु पर्छ।´
धनगढी उपमहानगरपालिकाले पटकपटक डुबानको समस्या हल गर्ने बताउँदै आएको छ। वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले भने धनगढी उपमहानगरपालिकाले माघको अन्तसम्म ६ लेनको दुबैतर्फ नाली निर्माण गरेर पानीको निकास गर्न ठोस योजना ल्याउने बताएको दाबी गरे।`हामी वडा नम्बर ३ का स्थानीयहरुले हरेक १५ दिनमा उपमहानगरपामलिका गएर डुबानको समस्या समाधान गर्न दबाब दिँदै आएका छौँ,´ उनले भने, `धनगढी उपमहानगरपालिकाका नगर प्रमुखले माघ मसान्तसम्म पानी निकासको ठोस योजना ल्याउने बताएका छन्।´
बिगतमा धनगढी नगर विकासमा पदाधिकारी भएका व्यक्तिले जथाभावी खोलानाला, कुलो तथा तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेकोले अहिले धनगढीमा डुबानको समस्या विकराल भएको स्थानीयले बताउने गरेका छन्। उपमहानगरपालिकाले २०२१ सालको नापीको आधारमा पानी बग्ने क्षेत्रको लालपुर्जा खारेज गर्ने बताउने गरे पनि कुनै प्रगति नभएको पाइएको छ। संघीय सरकारले ६ लेन सडकको दुबैतर्फ पानी निकासका लागि सर्वे गरेको र चाँडै काम अगाडि बढ्ने दाबी उपमहानगरका डिभिजनल इन्जिनियर दिजराज भट्टको छ।
`सडक विभागले विमानस्थल जाने सडकदेखि ६ लेन सडकमा दुबैतर्फ नाली बनाउने बताएको छ,´ उनले भने, `अहिले सर्वे गर्ने काम सकिएको छ। छिट्टै समस्या बढी भएको ठाउँबाट काम सुरू गरिनेछ।´ २०२१ सालमा भएको जग्गा नापीअनुसार ६ लेन सडकमा कल्भर्ट रहेको ठाउँको जग्गाको कुनै नापनक्सा गरिएको छैन। २०२१ सालमा जंगल भनेर उल्लेख गरिएको ६ लेन वरपरको जग्गाको नापनक्सा २०४८ पछि भएको छ।