सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालसँग खेलाँचीः किनमेल गर्न दैनिक गौरीफन्टा पार गर्छन् कैलाली कञ्चनपुरवासी

२०७८ माघ २, ०४:२४ विन्दु चन्द

धनगढी: कोरोना भाइरसको ग्राफ निरन्तर उकालो लागे पनि भारतीय सीमा नजिकका बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लाग्दै आएको छ। त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै दैनिक हजार बढी नेपाली किनमेलका लागि सीमा बजार पुगिरहेका छन्। कैलाली कञ्चनपुरका नागरिक किनमेलका लागि नजिककैको भारतीय बजार बनगाउँ गइरहेका हुन्। 

कोरोनाको डर भएपनि बाध्य भएर किनमेलका लागि भारतीय बजार जानुपरेको कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडका डिके धामी बताउँछन्। उनले भने, ‘कोरोना छ भन्ने त छ तर के गर्नु त्यहाँ सस्तो पाइन्छ। त्यसैले त्यहीँबाट सामान किन्छौँ।’. त्रिनगर–गौरीफन्टा नाका, गड्डाचौकी र खक्रौलासँगै अवैध नाका भएर पनि दैनिक रुपमा किनमेलका लागि सीमा बजार पुग्ने क्रम रोकिएको छैन। दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि सीमा बजारबाट क्यारिङ गर्नेको पनि घुइँचो लाग्ने गरेको छ। यहाँका स्थानीय बजारमा महंगो सामान पाइने भएकाले भारत जानुपरेको धनगढीकी बिना मगर बताउँछिन्। उनले भनिन्, ‘यहाँ एक किलो पाउने पैसामा भारतीय बजारमा २ किलो आउँछ। त्यसैले यता महंगो हुने भनेर भारत जान लागेका हौँ।’

भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि रोजगारीका लागि फर्किने नेपालीको पनि नाकामा भिड हुने गरेको छ। सोही भिडमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने र क्यारिङ गर्नेहरु पनि सामेल हुने गरेका छन्। यसले कोरोना भाइरसको जोखिम झनै बढाइ दिएको छ। भारतबाट आउजाउ गर्ने यात्रु बोकेको सवारीमै किनमेलका लागि जाने नेपालीले पनि आवागमन गर्ने गरेका कारण जोखिम बढेको त्रिनगर गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँद बताउँछन्। ‘भारतबाट आउनेहरुको मात्रै कोरोना परीक्षण भइरहेको छ। तर यहाँ सामान्य रुपमा आवतजावत गर्नेहरु धेरै छन्। उनीहरुले भारतबाट आउनेहरुकै सवारीसाधनमा आउँजाउँ गर्दा जोखिम निम्त्याएको छ’ उनले भने।

स्थानीय प्रशासनले अहिले कैलाली र कञ्चनपुरमा विभिन्न आदेश जारी गरेको छ। शैक्षिक संस्था बन्द गरिएको छ भने, २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। तर सबैभन्दा बढी जोखिम भारतबाटै भएको अवस्थामा त्यहाँ आवागमन गर्दा कुनै रोक छैन। 

तर सीमा नाका बन्द गर्न संघीय सरकारको आदेश आवश्यक भएकाले त्यसमा जिल्लाले केही गर्न नसक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अशोक कुमार भण्डारीले बताए। तर सीमामा हुने भिडभाडलाई नियन्त्रण गर्न तथा केही व्यवस्थापन गर्न आफूहरुले विभिन्न काम गरिरहेको उनले बताए।


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस